एजेन्सी– स्पेनिस ला लिगा फुटबलमा क्याटलान क्लब बार्सिलोनाले ग्रानडालाई पराजित गरेको छ। आईतबार राति भएको खेलमा कप्तान लियोनल मेस्सीको एक मात्र निर्णायक गोलमा बार्सिलोनाले ग्रानडालाई १–० गोलले हराएको हो।
भर्खरै मात्र नयाँ प्रशिक्षक नियुक्त गरेको बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा सुन्दर खेल पस्किएको थियो। अधिकांश समय खेलमा पकड बनाएको उसले गोल गर्न भने लामो समय पर्खिनुप¥यो।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ७६ औं मिनेटमा कप्तान लियोनेल मेस्सीको गोलबाट बार्सिलोनाले खेलमा अग्रता बनाएको थियो। त्यसपछि खेलमा अन्य गोल हुन सकेन र बार्सिलोना विजयी भयो।
जितसँगै बार्सिलोना ला लिगाको शीर्षस्थानमा उक्लिएको छ। बार्सिलोनाको २० खेलबाट ४३ अंक पुगेको छ। समान अंक भएपनि रियाललाई गोल अन्तरमा पछि पार्दै शीर्षस्थानमा उक्लिएको छ।