एजेन्सी – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको दुई गोल सहयोगमा युभेन्टसले इटालियन सिरी ए मा जित निकाल्दै शीर्षस्थानमा पकड बनाएको छ।
युभेन्टसले घरेलु मैदानमा पार्मामाथि २–१ को जित निकाल्दै शीर्षस्थानमा थप पकड बनाएको हो। युभेन्टसले दोस्रो स्थानको इन्टर मिलानलाई ४ अंकले पछि पारेको छ। युभेन्टसको २० खेलबाट ५१ अंक छ। समान खेलबाटै इन्टर मिलानको ४७ अंक छ। घरेलु मैदान एलिएन्ज स्टेडियम टोरिनामा आइबार राति भएको खेलमा युभेन्टसले पार्मालाई दवावमा राखेपनि गोलको लागि पहिलो हाफको अन्त्यतिरको समय कुर्नुपरेको थियो।
खेलको सातौं मिनेटमा पाउलो डिबालाको कर्नरमा एलेक्स सान्द्रोको हेडर पोस्टबाट थोरै बहीरिंदा युभेन्टसले खेलमा अग्रता लिने मौका खेर फाल्यो। २५औं मिनेटमा रोनाल्डोको प्रहार क्रसबार बाट थोरै बाहिरियो। पार्मालाई लगातार दवावमा राखेको युभेन्टसले ४३औं मिनेटमा रोनाल्डोको गोलबाट पहिलो हाफमा १–० को अग्रता लिन सफल भयो। रोनाल्डोले ब्लेस माटुइडीको पासमा गरेको सशक्त प्रहार सिधै गोलमा परिणत भएको थियो।
५१औं मिनेटमा डानिलोको प्रहारलाई पार्माका गोलरक्षक लुइजी सेपले बचाए। ५५औं मिनेटमा पर्माले बराबरी गोल फर्कायो। एन्द्रियस कोर्नि्लियसले माटयो स्कोजारेल्लाको पासमा हेडमार्फत बराबरी गोल फर्काए। पार्माको त्यो बराबरी तीन मिनेट पनि टिक्न सकेन।

५८औं मिनेटमा रोनाल्डोले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गर्दै युभेन्टसलाई खेलका २–१ को अग्रता दिलाए। रोनाल्डोले पाउलो डिबालाको पासमा गोल गरेका थिए। ८०औं मिनेटमा पार्माका जस्मिन कुरटिकको प्रहारलाई युभेन्टसका गोलरक्षक वोजसिएचले बचाए। ९०औं मिनेटमा रोनाल्डो ह्याट्रिक नजिक पुगेर चुकेपनि युभेन्टस २–१ ले विजयी हुन सफल भयो।
आइतबारै राति भएको खेलमा इन्टर मिलान लेच्चेसँग १–१ गोलको बराबरीमा रोकिदै अंक बाड्न बाध्य बन्यो। इन्टरले अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य बनेको हो। बराबरीपछि इन्टर शीर्षस्थानको युभेन्टससँग ४ अंकले पछि परेको छ। लेच्चे १६ अंक जोडेर रेलिगेसन जोनभन्दा एक स्थान माथि छ।
प्रतिस्पर्धात्मक खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव हुदा इन्टरले ७२औं मिनेटमा एलेससान्द्रो बास्टोनीको गोलबाट खेलमा अग्रता लिएको थियो। ७७औं मिनेटमा मन्कोसुले बराबरी गोल फर्काए।