काठमाडौं– हामीलाई बारम्बार भोक लागिरहको केही खास कारण पनि हुनसक्छ। तर हामी ती कारणहरु पत्ता लगाउनुको साटो बारम्बार खाइरहन्छौं। यसले गर्दा समस्या समाधान हुनुको साटो झन् बढ्दै जान्छ। यस्ता छन् भाेक लागिरहनुकाे कारणः
कम समय निदाउनु
निद्रा हरेक रोगको औषधि हो। सातदेखि आठ घन्टाको पर्याप्त निद्राले मानिसलाई स्वस्थ मात्र होइन, सुन्दर र उर्जावान पनि बनाइराख्छ। पर्याप्त निदाइएन भने शरीर थाकिरहेको हुन्छ र त्यस थकानलाई मेटाउनका लागि पर्याप्त उर्जाको आवश्यकता हुन्छ, जुन भोजनबाट प्राप्त हुन सक्छ। उर्जा नहुँदा हामीलाई धेरै भोक लागिरहन्छ। एकपटक उर्जा प्राप्त भयो भने लगातार भोकको समस्या रहँदैन।
बिहानको नास्ता नखानु
६ देखि ८ घन्टासम्म सुतिसकेपछि शरीरलाई फेरि उर्जाको लागि खाद्यपदार्थको आवश्यकता पर्छ। बिहानको नास्ताले ब्लड सुगरलाई स्थिर राख्छ जसले गर्दा दिनभर भोक लाग्न दिँदैन। आफ्नो नास्तामा प्रोटिनयुक्त वस्तुहरु समावेश गरेर खाइएमा भने बारम्बार भोक लाग्ने समस्याबाट छुटकारा पाउन सकिन्छ।
हतारमा खाना खानु
हामीले हतारमा खाना खानु स्वास्थ्यकाे हिसाबले राम्रो मानिदैन। बिस्तारै–बिस्तारै चबाएर खाएको खानाले पेटमा राम्ररी पच्छ र यसमा रहेका सबै पोषक तत्वले शरीरलाई उर्जा दिन्छ। त्यसो भएमा बारम्बार भोक लाग्ने समस्या समाधान हुन्छ।
पानी कम पिउनु
टन्न पानी पिउनु भोक शान्त गर्ने एक उपाय हो। पर्याप्त पानी नपिउँदा शरीर डिहाइड्रेट हुन्छ र हामी के भइरहेको छ भनेर थाहा पाउन सक्दैनौं, तर हामीलाई लाग्छ कि केही खाएमा ठिक हुन्छ र खाइरहन्छौं। जाडोमा पानीको कमीले यस्तो समस्या हुनेगर्दछ। जसले गर्दा कमजोरी बढ्छ।
प्रोटीन र फाइबरको कमी
हामीले गर्ने भोजनमा सही परिमाणमा प्रोटीन र फाइबर भएन भने पनि हरेक समय भोक लागेको महसुस भइरहन्छ। जब प्रोटिन र फाइबरयुक्त भोजन गर्छौं, त्यतिबेला पेटबाट यस्तो हार्मोन्स निस्किन्छ, जसले भोकलाई शान्त गरिदिन्छ।
पर्याप्त क्यालोरी नलिनु
शरीरलाई सम्पूर्ण आहाराको आवश्यकता हुन्छ। यस्तोमा ‘फिगर कन्सस’ भएर महिलाहरु क्यालोरी कम भएको खाना खाने गर्छन्। यस्तो खानेकुरा शरीरका लागि हानिकारक हुन्छ। शरीरमा पर्याप्त मात्रामा क्यालोरीको त्यति नै आवश्यकता हुन्छ जति अन्य पौष्टिक तत्वको, क्यालोरीरहित खानेकुरा खाइयो भने शरीरमा यसको कमि यथावत रहन्छ र सदैव भोक लागिरहन्छ।