एजेन्सी– बेलायती राजकुमार ह्यारीले वरिष्ठ शाही सदस्यको जिम्मेवारीबाट पछि हट्नेगरी लिएको निर्णयप्रति दुःख लागेको कुरा बताएका छन्। एक परोपकारी संस्थाको कार्यक्रममा उनले आफु सँग अरु कुनै पनि विकल्प नरहेर यस्तो फैसला गर्न बाध्य भएको बताएका हुन्।
ह्यारी र उनकी श्रीमती मेगनले शाही पदहरूको प्रयोग नगर्ने र क्यानडामा लामो समय बिताउने घोषणा गरेपछि ह्यारीले याे पहिलो पटक प्रतिक्रिया दिएका हुन्। उनले आफुहरुले जिम्मेवारीबाट पछि हट्ने कुराको फैसला हतारमा नलिएको र महिनौँदेखिको छलफल र वर्षौँदेखिको चुनौती पछि अन्तिम विकल्पको रुपमा गरेको बताए।
उनले आफ्नो घर बेलायत भएको र त्यो कहिल्यै पनि नबदलिने पनि बताए। उनले आफू र आफ्नी पत्नीले करदाताको पैसा नलिइकनै महारानीका लागि काम गर्ने विश्वास राखेको तर दुर्भाग्यवश त्यो हुन नसकेको धारणा व्यक्त गरेको बीबीसीले उल्लेख गरेको छ।
आफू र मेगन टाढा भाग्न नलागेको पनि उनले स्पष्ट पारेका छन्। यसै महिनाको सुरुमा ह्यारी र मेगनले आफूहरू राजपरिवारको वरिष्ठ सदस्य नरहने घोषणा गरेका थिए।