एजेन्सी– एप्पलले सन् २०२० को पहिलो त्रैमासिक भित्र आफ्नाे कम्पनीको हालसम्मकै सबैभन्दा सस्तो स्मार्टफोन सार्वजनिक गर्ने भएकाे छ। यस अघि कम्पनीले उक्त रेन्जमा आईफोन एसई ल्याएको भएतापनि हाल त्यसको उत्पादन बन्द भइसकेको छ। तर अब भने एप्पलले आइफोन नाइन वा आइफोन एसइटू नामबाट नयाँ संस्करणको सस्तो मूल्यको आइफोन सार्वजनिक गर्न लागेको हो।
एप्पलले सन् २०१७ मा आइफोन ८ बजारमा ल्यायो। सोही अनुसार आइफोन एट पछि आइफोन नाइनको पालो थियो। तर एप्पलले आइफोन ८ पछि एकैचोटी आइफोन एक्स लञ्च र्गयो। तर अब भने एप्पलले आइफोन नाइन बजारमा ल्याउँदैछ। समाचार अनुसार आइफोन नाइन अहिले सम्मकै सस्तो मूल्यको आइफोन हुने बताइएको छ। एप्पलको आगामी सस्तो मोडेलको आइफोनको नाम आईफोन नाइन वा आइफोन एसइटू हुने बताइएको छ।
प्रविधिसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय समाचार माध्यमहरुका अनुसार नयाँ आईफोनको डिजाइन आइफोन ८ को जस्तै हुनेछ। यद्यपि यसको आन्तरिक डिजाइन भने आइफोन ११ सिरिजबाट प्रभावित हुने बताइएको छ। आइफोन एटमा जस्तै नयाँ आइफोनमा पनि ४.७ इन्चको एलसिडी डिस्प्ले हुनेछ। जसमा टच आइडीको साथमा होम बटन तथा निकै पातलो भेजल्स रहनेछ।
आइफोन नाइनमा ए १३ बायोनिक चिप रहनेछ जुन एप्पलको आइफोन ११ मा रहेको छ। साथै आइफोन नाइनमा एप्पलको पछिल्लो अपरेटिङ सिस्टम आइओएस १३ हुनेछ। यो आइफोनमा ३ जिबीको र्याम र ६४ वा १ सय २८ जिबीको इन्टर्नल मेमोरी उपलब्ध हुने बताइएको छ।
एप्पलले सन् २०२० को पहिलो त्रैमासिक भित्र नै आइफोन नाइन सार्वजनिक गर्ने अनुमान गरिएको छ। यसको सुरुवाती मूल्य ३ सय ९९ डलर अर्थात नेपाली ४५ हजार रुपैँयाको हाराहारीमा उपलब्ध हुने अनुमान छ।