एजेन्सी– विश्वभर बहुमूल्य धातु पलेडियमको मूल्य र माग बढेको छ। यसको मूल्य गएको दुई हप्तामा २५ प्रतिशतभन्दा बढेर गत वर्षभन्दा दोबर भएको छ।
अहिले प्रतितोलाको साढे १० हजार अमेरिकी डलर (साढे ११ लाख नेपाली रुपैयाँ) मूल्यमा यो धातु सुनभन्दा महँगो भएको छ र यो मूल्य चाँडै घट्ने देखिएको छैन।बहुमूल्य पलेडियम धातु के हो? यो केमा प्रयोग हुन्छ र किन यसको मूल्य बढिरहेको छ?
प्यालाडियम धातु के हो?
प्लाटिनमको समूहमा पर्ने यो एकप्रकारको चम्किलो सेतो धातु हो। संसारका धेरैजस्तो पलेडियम रुस र दक्षिण अफ्रिकाबाट आउँछ। धेरैजस्तो प्लाटिनम र निकल खानी उत्खनन् गर्दा पलेडियम आउँछ। क्याटालिटिक कन्भर्टर निकाल्न सहज हुन्छ।
केमा प्रयोग हुन्छ?
यसको महत्त्वपूर्ण व्यावसायिक प्रयोग भनेको पेट्रोल गाडीको धुवाँ नियन्त्रण गर्ने क्याटालिटिक कन्भर्टरमा हुन्छ।
उत्पादित ८० प्रतिशत पलेडियमको गाडीबाट निस्कने कार्बन मोनोअक्साइड र नाइट्रोजन डाइअक्साइडजस्ता हानिकारक ग्याँसलाई कम हानिकारक नाइट्रोजन, कार्बन डाइअक्साइड र बाफ बनाउने त्यही उपकरणमा प्रयोग हुन्छ।थोरै मात्रामा यसको प्रयोग विद्युतीय उपकरण, दन्तचिकित्सा र गहनामा पनि हुन्छ।
यसको मूल्य बढेपछि विश्वभर गाडीबाट क्याटालिटिक कन्भर्टर चोरिने क्रम बढेको छ। लन्डन प्रहरीका अनुसार सन् २०१९ को पहिलो छ महिनामा यसको चोरी सन् २०१८ को वर्षभरीको भन्दा ७० प्रतिशत बढी थियो।
यसको मूल्य किन बढिरहेको छ?
यसको मुख्य कारण पलेडियमको माग यसको आपूर्तिभन्दा बढी भएर हो। सन् २०१९ मा यसको उत्पादन लगातार आठौँ वर्षमा मागभन्दा कम थियो। प्लाटिनम र निकलको खानीबाट निस्कने भएकोले यसको उत्पादन बढाउन पनि खानीहरूलाई सहज छैन।
यसैबीच संसारभर गाडीको वायु प्रदुषण नियन्त्रण गर्ने प्रयास बढेका कारण गाडी निर्माताहरूले यसको माग ह्वात्तै बढाएका छन्। युरोपमा पनि धेरै प्लाटिनम प्रयोग हुने डिजेल गाडीको स्थानमा पेट्रोल गाडी किन्न थालेका छन्। बीबीसी