एजेन्सी– चीनको एउटा ‘थिम पार्क’मा सुँगुरलाई बन्जी जम्प गराएपछि सामाजिक सञ्जालमा कडा आलोचना भएको छ। दक्षिण पश्चिम चीनको चोङकिङमा रहेको पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि सुँगुरलाई बन्जी जम्प गराएपछि त्यसको व्यापक आलोचना भएको हो।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा ६८ मिटरको उचाइबाट सुँगुरलाई डोरीले बाँधेर बन्जी गराइएको देखिन्छ। सुँगुर पीडाले कराइरहेको छ, वरपर रहेका मानिसहरु भने आनन्द मानेर हाँसिरहेको दृश्यमा देखिन्छ। तर अर्धचेत अवस्थामा पुगेको सुँगुरलाई त्यसपछि वधशालामा लगिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। सुँगुरको तौल ७५ किलोग्राम रहेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार चोङकिङको मेक्सिन रेड वाइन टाउनमा नयाँ बन्जी जम्पको प्रवर्द्धनका लागि सुँगुरको प्रयोग गरिएको हो। पर्यटन प्रवर्द्धनका लागि सुँगुरमाथि अमानवीय व्यवहार गरेको भन्दै स्थानीयले आलोचना गरेका छन्। चिनियाँ पत्रिका ग्लोबल टाइम्सले सुँगुरको प्रयोग मार्के्टिङ स्टन्ट भएको भन्दै लेखेको छ, ‘जनावरसँग गरिएको यो अत्यन्तै दुःखद व्यवहार हो। यो निकै घिनलाग्दो मार्के्टिङ आइडिया हो।’ ग्लोबल टाइम्सले ‘सुँगुर ठीक भएको र स्टन्ट गराउने मान्छे बेठीक’ भएको पनि लेखेको छ।
जनावरहरुमाथि गरिने अत्याचारमा चीनमा कुनै कारबाही हुने गरेको छैन। तर केही वर्षदेखि पशुअधिकारका पक्षमा आवाज भने बढ्दै गएको छ।
व्यापक आलोचना भएपछि थिम पार्कले माफी मागेको छ। ‘हामी नागरिकको आलोचनालाई स्वीकार गर्दै माफी माग्न चाहन्छौँ। हामी पर्यटकीय क्षेत्रको मार्केटिङमा सुधार गर्नेछौँ।’