काठमाडौं– संघीय संसद सचिवालयले प्रतिनिधि सभाको सभामुख चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।सचिवालयले नेपालको संविधानको धारा ९१ तथा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ७ बमोजिम सभामुख पदका लागि निर्वाचत कार्यतालिका सार्वजनिक गरेको हो।
कार्यतालिका अनुसार माघ १० गते बिहान ११ देखि दिउँसो २ बजेसम्म सभामुख पदका लागि उम्मेदवारी दर्ता हुनेछ। १० गते नै सभामुख पदका लागि उम्मेदवारहरुको अन्तिम सूची प्रकाशन गरिने छ।
यस्तै, माघ १२ गते दिउँसो ३ बजे बस्ने बैठकमा सभामुख पदमा प्रस्ताव र समर्थन पेश गरी निर्णयार्थ पेश गरिने छ। माघ १२ गते नै बहुमत प्राप्त गर्ने उम्मेदवार प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित हुनेछन्।
प्रतिनिधिसभामा बहुमत रहेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी सदस्य तथा सांसद अग्नि सापकोटालाई सभामुखको रुपमा उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।