काठमाडौं – अहिले सामाजिक सञ्जालमा भाईरल भएकी गायिका आस्था राउतको विमानस्थलमा चेकजाँचका क्रममा भएको घटना र त्यसपछि उत्पन्न परिस्थितीको बिषयमा कमै मात्र कलाकर्मीले आफ्नो भनाई सार्वजनिक गरेका छन्। विशेषगरि, यस बिषयमा संगीतसँग सम्बन्ध संघसंस्थाहरुले भने बोलेका छैनन्। यसैविच, गायक प्रमोद खरेलले गायक गायिकाको बिषयमा बोल्ने एउटा पनि संस्था नभएको अनुभव आफूलाई भएको उल्लेख गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो भनाई सार्वजनिक गर्दै उनले लेखेका छन्,‘आस्थालाई पक्राउ गर्न प्रहरीले अनुमती पाइसकेको छ। जहाँसम्म लाग्छ, यो निर्णय बाहिरिएको सिसिटिभी फुटेज भन्दा पनि उनले फेसबुक लाइभमा दिएको अभिव्यक्ती र त्यसमा प्रयोग भएका शब्दहरु नै हुन्। जुन आफैमा केही अस्वभाविक र कलाकारलाई सुहाउँदो छैन।’ प्रमोदले सिसिटिभी फुटेजमा दुबैको अडियो नभएकाले पनि कसले के बोले थाहा नभएको उल्लेख गरेका छन्।
उनले आस्था विनाकारण नै रिसाइन् होला त? भनेर प्रश्न पनि गरेका छन्। प्रमोदले यो प्रकरणमा दुइपक्षिय नै छानविन हुनुपर्ने पनि उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘दिनभर ड्यूटीले थकान भएर प्रहरीले यस्तै व्यवहार गरिन् होला पनि भन्न मिल्दैन। तसर्थ गल्तीको प्रतिशत जति जति भएपनि अनुसन्धान दुइपक्षिय नै हुनुपर्छ, एकपक्षिय होइन, यदि अघि बढ्ने नै हो भने।’
प्रमोदले विगतदेखि नै प्रहरीले कलाकार र कलाकारले प्रहरीलाई गर्ने व्यवहार पवित्र भएको भन्दै एकाधन व्यक्तिगत घटनालाई समग्र प्रहरी क्षेत्रीसँग जोड्नु जोडाउनु दुर्भाग्य हुने पनि उल्लेख गरेका छन्। उनले आस्थालाई थप मानसिक कमजोर बनाउनुको सट्टा सचेत र परिपक्क भूमिका खेल्न प्रहरीसँग आग्रह पनि गरेका छन्। उनले आस्था र प्रहरी जवान रमिताको हात मिलाउँदै गरेको हँसिलो तस्वीर सामाजिक संजालमा हेर्न पाइयोस् भनेर पनि कामना गरेका छन्।