काठमाडौं– रसायनबाट उत्पन्न हुने एसिटिलिन ग्याँस स्टील धातु वेल्डिङ गर्न प्रयोग गरिन्छ। यो ग्याँसले मानिसमा क्यान्सर उत्पन्न गराउन सक्छ। कतिपय व्यापारीहरुले फलफूललाई छिटो पकाउन क्याल्सियम कार्वाइड रसायनको प्रयोग गर्ने गर्छन्।
हुन त फलफूल स्वास्थ्यका लागि लाभदायीक खानेकुरा हो, तर रसायन राखेर पकाइएका फलफूल खाएमा ती फलफूलले स्वास्थ्यलाई असर र्पुयाउन सक्छ। विशेषगरी केरा, आँप, मेवा आदिलाई छिटो पकाउन व्यापारीहरुले रसायन प्रयोग गर्न सक्छन्। यदि यो रसायन राखेर फलफूल पकाइएको रहेछ भने स्वास्थ्यमा दीर्घकालीन र तत्कालीन असरहरु देखिन सक्छ।
फलफुलमा क्याल्सियम कार्वाइड रसायन प्रयोगर्दाको असरः
मुखमा अल्सर हुन सक्ने, आमाशय पोल्ने, चिडचिडापन हुने, पेट दुख्ने, झाडा पखाला लाग्ने, टाउँको दुख्ने, रिङ्गटा लाग्ने, निद्रा लागिरहने र मानसिक समस्या हुनसक्छ।
यसबाट कसरी सचेत रहनेः
आँप, मेवा जस्ता फलहरु सिधै सिङ्गै खानु हुँदैन। त्यसलाई ताछेर, काटेर टुक्रा पारेर खानु उपयुक्त हुन्छ। उपभोग भन्दा अगावै फललाई राम्ररी धोइपखाली गर्ने, सकेसम्म बगिरहेको पानीले केही समय सम्म पखाल्ने। यस्तो गर्दा फलफुलमा हुने हानिकारक रसायनहरु भएमा पखालिएर जान्छ।
आफ्नो प्राकृतिक समय भन्दा फरक समयमा पाकेका देखिने बजारमा विक्रीका लागि राखिएका फलहरु भरसक उपभोग नगर्ने, समय अगावै बजारमा पाकेका फलफूल आएमा त्यसमा क्याल्सियम कार्वाइडको प्रयोग गरिएको हुनसक्छ। त्यसैले मौसमी फलफूल मात्र खाने, बाहिर आकर्षक देखिनेगरी सबैतिर राम्रोसँग पाकेको फलफूलमा क्याल्सियम कार्वाइड राखिएको हुनसक्ने भएकाले त्यस्तो फलफूल नखाने।
फलको बाहिरी भाग बोक्रा तथा भेट्नामा काला दागहरु तथा धब्बाहरु छन् भने त्यसमा क्याल्सियम कार्वाइड प्रयोग गरिएको हुनसक्छ।त्यसैले कालो दाग तथा धब्बा देखिएको फलफूल नखाने, फलको बोक्रा वा भेट्नामा सेतो, खैरो, धुलो देखिएमा यसमा पनि कृतिम रसायन राखेको हुनसक्छ।
त्यसैले फलफूल किन्दा यस्तो कुरामा बिचार गर्नुपर्छ। पाकेका फलफूलको प्राकृतिक बास्ना बाहेक अन्य बाहिरी अस्वभाविक गन्ध वा स्वाद आएमा त्यसमा क्याल्सियम कार्वाइड प्रयोग गरिएको हुनसक्छ। त्यस्तो फलफूल पनि खानु हुँदैन।