विराटनगर– आज(मंगलबार) प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मोरङको बुधनगरमा निर्माण भएको नेपाल–भारत एकीकृत जाँच भन्सार विन्दु (आईसीपी) को उद्घाटन गर्ने भएका छन्।
संघीय आयोजना कार्यान्वय इकाई मोरङका सूचना अधिकारी राजु शर्माका अनुसार बिहान ११ बजे भिडियो कन्फ्रेन्समार्फत प्रधानमन्त्री ओलीले सिंहदरबारबाट र भारतीय प्रधानमन्त्री मोदीले नयाँदिल्लीबाट संयुक्त रूपमा आईसीपीको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
आयात तथा निर्यात पारवहन सहज बनाउन विराटनगर महानगरपालिका –१८ मा आईसीपी निर्माण गरिएको हो। आईसिपी सञ्चालनसँगै आयात–निर्यात सहज हुने विश्वास राखिएको छ। आईसीपी निर्माणका लागि दिनेशचन्द्र एन्ड आर अग्रवाल इन्फा डटकम अहमदावादलाई भारतले ठेक्का दिएको थियो। सम्झौताअनुसार, उसले भवन, पार्किङस्थल, जाँच पोष्टसहितका संरचना निर्माण गरेको छ। नेपालतर्फ ८ सय ५० मिटर लम्बाइ र ५ सय मिटर चौडाइमा फैलिएको आईसीपी १२९ बिघा क्षेत्रफलमा फैलिएको छ।
यसमध्ये ४० विघामा ४३२० मिटर लामो चार लेनको कालोपत्रे सडक निर्माणको गरिएको छ। लिंकरोडलाई व्यापारिक मार्ग रानीदेखि धरानसम्मको ४९ किलोमिटरको उत्तररदक्षिणी राजमार्गसँग जोडिएको छ। गत २९ मंसिरमा सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय मोरङले नेपालतर्फ निर्माण हुने आईसीपीका लागि आवश्यक जग्गा भारतीय पक्षलाई हस्तान्तर गरेको हो। निर्माण कार्य सन् २०१७ फेब्रोअरी १ देखि सुरु भएको थियो।
दुई वर्षभित्र आईसीपी निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको थियो। तर १५ महिनापछि मात्र निर्माण सम्पन्न गरी भारतीय पक्षले नेपालललाई हस्तान्तरण गर्न लागेको हो।