एजेन्सी– स्पेनिस महारथी रियल म्याड्रिडले ब्राजिलियन क्लब फ्लामेंगोबाट युवा मिडफिल्डर रेनीअर जेससलाई झन्डै ३० मिलियन युरो खर्चेर अनुबन्ध गरेको छ।
रियलले रेनीअरसँग यसअघि नै मौखिक सम्झौता गरेको थियो। त्यसै अनुरुप सोमबार उनी औपचारिक रुपमा रियालमा अनुबन्धित भएका हुन्। रेनीअरलाई टोलीमा समेट्न युरोपका शीर्ष क्लबहरुले प्रयास गरेका थिए। बार्सिलोना, एटलेटिको म्याड्रिड, म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेनले फ्लामेंगोसँग सम्पर्क पनि गरेका थिए। तर रियलले क्लबलाई ३० मिलियन युरोको रिलिज क्लज तिर्ने बताएसँगै खेलाडीसँग पनि छलफल गरेको थियो।
रियलले रेनीअरलाई अनुबन्ध गरेलगत्तै सिनियर टोलीमा भने नलग्ने भएको छ। उनले रियलको दोस्रो टोली कास्टिलामा रहेर खेल्नेछन्। यसअघि भिनिसियस जुनियर र रोड्रीगोले पनि सोहि अनुसार सिनियर टोलीको यात्रा तय गरेका थिए। कास्टिलामा रियलका पूर्वकप्तान राउल मुख्य प्रशिक्षक रहेका छन्।
रियलले रेनीअरलाई हालको लागि नभएर भविष्यको लागि सोचेर अनुबन्ध गरेको बुझिएको छ। रेनीअर हाल ब्राजिलको यू–२३ टोलीसँग रहेर ओलम्पिक छनोटमा व्यस्त छन्। उनी उक्त प्रतियोगिता सकेपछि रियलको कास्टिला टोलीमा रहनेछन्।