एजेन्सी– श्रीलंकाका राष्ट्रपति गोताबाया राजपक्ष्यले गृहयुद्धको बेलामा बेपत्ता भएका करिब २० हजार मानिस मारिएको बताएका छन्। कोलम्बोमा संयुक्त राष्ट्र संघका दूतसँगको भेटका क्रममा उनले पहिलो पटक सो कुरा बताएका हुन्।
राष्ट्रपतिको कार्यालयबाट जारी गरिएको वक्तव्यमा हराएकाहरुका सन्दर्भमा चाँडै मृत्युको प्रमाणपत्र जारी गरिने जनाइएको छ। बेपत्ता भएका व्यक्तिका सयौं परिवार उनीहरुका हराएका सदस्य कहाँ छन् भनेर नियमित रुपमा र्यालीको आयोजना गर्दै आइरहेका छन्।
परिवारका सदस्यले उनीहरुका आफन्त अझै जीवित भएको आशा गर्दै आएका छन्। तर, सरकारको पछिल्लो भनाईले उनीहरुको आशालाई अस्वीकृत गरेको छ। श्रीलंकामा सन् २००९मा २६ वर्ष लामो गृहयुद्ध टुंगिएको थियो।सो युद्धका क्रममा करिब १ लाख मानिस मारिएको अनुमान गरिएको छ।
२० हजार खासगरी तमिलहरु बेपत्ता हुँदै आएका छन्। श्रीलंकाका अहिलेका राष्ट्रपति त्यतिबेला विद्रोहीलाई दबाउने क्रममा रक्षा मन्त्री रहेका थिए। सिंहाली समुदायले उनलाई हिरोको रुपमा चित्रित गरेका थिए। तर, तमिलले भने मन पराउँदैनथे।
पछिल्लो भनाई राष्ट्रपतिले संयुक्त राष्ट्र संघका आवासीय प्रतिनिधि हाना सिंगरसँगको भेटमा भनेको बताइएको छ। बीबीसी