काठमाडौं– रोग प्रतिरक्षा प्रणालीको उपचारका लागि नयाँ हिस्सा प्रयोग गरी क्यान्सर रोगको उपचार गर्न सकिने वैज्ञानिकहरूले बताएका छन्। बीबीसीले उल्लेख गरे अनुसार कार्डिफ विश्वविद्यालयका वैज्ञानिकहरूले प्रोस्टेट, स्तन, फोक्सो र अन्य सबै खाले क्यान्सरको उपचार गर्ने विधिको प्रयोगशालमा परीक्षण गरेको छ।
वैज्ञानिकहरूले क्यान्सरका बिरामीहरूमा यसको परीक्षण गरिएको छैन, तर यसले क्यान्सरको उपचार गर्न ठूलो सम्भावना बोकेको बताएका छन्। प्रकाशित अध्ययनको नतिजाका आधारमा नेचर इम्युनोलोजी जर्नल नामकमा वैज्ञानिकहरूले यो सुरुवाती चरणमा भएपनि निकै उत्साहजनक देखिएको दाबी गरेका छन्।
के–कती पत्ता लाग्योः
हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले रोगहरू लाग्न नदिन पर्खालको काम गर्छ। वैज्ञानिकहरू ट्युमरविरुद्ध प्रतिरक्षा प्रणालीको प्राकृतिक आक्रमण गराउन परम्परागत ढाँचाभन्दा फरक र यसअघि पत्ता नलागेका विधिको खोजीमा थिए।
उनीहरूले मानिसको रगतभित्र टी–सेल नामक कोष फेला पारे, त्यो प्रतिरक्षा प्रणाली सक्रिय पार्ने कोष हो जसले शरीरभित्र कुनै खतरा छ भन्ने थाहा पाउने गर्छ। त्यसले शरीरमा क्यान्सर फैलाउन सक्ने कोषहरूलाई पनि आक्रमण गर्छ।
कसरी काम गर्छः
अनुसन्धानकर्ताहरूका अनुसार रगतमा हुने टी–सेल नामक कोष प्रयोग गरी विभिन्न प्रकारका क्यान्सर लाई आक्रमण गर्न सकिन्छ। उनीहरूका अनुसार टी–सेल लाई एमआर १ भनिने शरीरमा प्रत्येक कोषको सतहमा रहने भागसँग अन्तरक्रिया गराएर क्यान्सर कोषमा रहेको विकारबारे थाहा पाउन सकिन्छ।
क्यान्सर भएको बिरामीबाट रगतको नमुना लिएपछि त्यसलाई आनुवंशिक रूपमा बदल्नु पर्छ र त्यसले क्यान्सर पत्ता लगाउँछ। त्यसपछि प्रयोगशालामा त्यस्ता कोषहरू धेरै परिमाणमा उत्पादन गरेर बिरामीको शरीरभित्र पठाउनु पर्छ।
अहिलेसम्म त्यो अनुसन्धान जनावरहरूमा मात्र गरिएको छ। त्यसलाई मानवमा परीक्षण गर्नु अघिका सुरक्षा जाँच हुन बाँकी नै छ। अझै धेरै अध्ययन गर्न बाँकी भएपनि वैज्ञानिकहरूले यो नयाँ प्रयोगबाट सबैखाले क्यान्सर निको पार्न सकिने विश्वास व्यक्त गरेका छन्।