काठमाडौं– भोक लागेपछि हामी पेट चर्कने गरी खान्छौं। मिठो–मसिनो पाएपछि त झनै धेरै खाइदिन्छौं। काम वा अन्य व्यस्ततामा छौं भने, घण्टौंसम्म भोको पेट पनि बसिदिन्छौं। खाना हाम्रो शरीरको अनिवार्य र नियमित आवश्यक्ता हो भन्ने हामीलाई हेक्का छैन। खानेकुरामा हामी बेवास्ता गर्छौं।
शरीर सञ्चालन एवं निर्माणका लागि विभिन्न पोषक तत्व आवश्यक पर्छ। यसरी आवश्यक पर्ने पोषकतत्वको स्रोत खानेकुरा नै हो, जो हामीले खान्छौं। पोषक तत्व सन्तुलित रुपमा शरीरले ग्रहण गर्छ। एकसाथ कुनैपनि पोषकतत्व अधिक भएमा त्यसले हानी गर्छ। शरीरलाई आवश्यक सबै किसिमका पोषक तत्व आपूर्ति गराउनका लागि फरक–फरक खानेकुरा सेवन गर्नुपर्छ।
हामीलाई याद छैन की, कुन खानेकुरामा कस्ता पोषक तत्व पाइन्छः
मासु प्रोटिनको स्रोत हो, चामल कार्बोहाइड्रेटको स्रोत हो भने, कागती भिटामिन सिको स्रोत हो, यस्ता कुरामा हामीले त्यती हेक्का राख्दैनौ। कुन खानेकुराबाट के पोषक तत्व पाइन्छ र त्यसलाई कति मात्रामा लिने भन्ने कुरामा त हामी सोच्दा पनि सोच्दैनौ।
हाम्रो आफ्नै खाने संस्कार एवं शैली छ। हाम्रा पूर्खाहरुले विहान–बेलुकी भात खाए भात अर्थात चामल, तरकारी, दाल र अचार हाम्रो सदावहार खाना हो। हाम्रा पिता पूर्खाले यसरी प्रकृति अनुसार खानपानको पहिचान गरे, त्यसलाई नै खाने तालिका मिलाए।
तर, अहिले हामीलाई यस्तो परम्परागत खानपानमा चित्त बुझेन। हामी विश्वभरको मेनु हेरेर आफ्नो भान्सामा थरीथरीका परिकार बनाउन थाल्यौं। भान्सा छाडेर रेष्टुरेन्ट चाहर्न थाल्यौं। फास्टफुडमा जिब्रोलाई लोभ्यायौं। प्याकेटबन्द खानेकुरामा अभ्यस्त भयौं।
यसरी हामी आफ्ना परम्परागत खानेकुरा छाडेर अनियन्त्रित रुपमा खानेकुरा खोज्न थाल्यौं। हामी बजारको खानाले पेट भर्न थाल्यौं जसले हाम्रो शरीरमा पोषक तत्वको असन्तुलन हुन पुग्यो। यहि कारण अहिले धेरैलाई मोटोपनको समस्या, मधुमेह, उच्च रक्तचाप जस्ता खानपानकै कारणले रोगको समस्या हुनेगर्दछ।
हाम्रा पूर्खाहरूको खानपान शैलीः
उनीहरु मौसमी खानेकुरा खान्थे, चिल्लो–चाप्लो, मसेलदार खानेकुरा खाँदैनथे भने, बेलाबखत उपवास बस्थे वा छाक छाड्थे। खाना खाइरहँदा चुपचाप बस्नुपर्छ वा बोल्नु हुँदैन भन्थे, खानामै ध्यान लगाएर स्वाद लिएर खानुपर्छ भन्थे, भुँइमा बसेर, पलेँटी कसेर, आरमसाथ खान्थे, खाना जथाभावी छाड्दैनथे।, अनावश्यक खाँदैनथे, ठिक समयमा खाना खान्थे, ठिक समयमा सुत्थे, विहान चाडै उठ्थे र दिनभर सक्रिय रहन्थे।
खानपानको यही शैलीले उनीहरुलाई लामो समयसम्म निरोगी भए भने, उनीहरुलाई कलिलै उमेरमा रोगले पनि सताएन। तर, आज हामी फास्टफुडमा रमाएका छौं। झटपट तयार हुने, जिब्रोलाई लोभ्याउने खानेकुरा माग्छौं। हतारमै खान्छौं। त्यसैले यस किसिमको खानपानले हामी उमेर नपुग्दै विभिन्न रोगको चपेटामा पर्दैछौं।