एजेन्सी– दक्षिण अफ्रिकामा जारी आईसीसी यू१९ विश्वकप अन्तर्गत सोमबार राती सम्पन्न खेलमा वेस्ट इन्डिज र अष्ट्रेलिया विजयी भएका छन। समुह बी को खेलमा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई डक वर्थ लेविस पद्धतीको आधारमा ७१ रनले हराउँदै क्वाटरफाइनल नजिक पुगेको छ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धा्रित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६७ रन बनायो। उसका केल्वन एन्डरसन १ सय ५ बलमा ६ चौका र ३ छक्का सहित ८५ रनमा अविजित रहे। नइम योङ ६६, कप्तान किमानी मेलियस २४ र विकेटकिपर लियोनार्डो जुलिएन ४० रनमा आउट भए।
२ सय ६७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ४३.४ ओभरमा १ सय ८४ रन बनाउन ९ विकेट गुमायो। उसका टम क्लार्क ३८ र बेन चाल्र्सवर्थले ३६ रन जोडे । नइम योङले ५ विकेट लिदै म्यान अफ द म्याच चुनिए। पहिलो खेलमा वेस्ट इन्डिजले अष्ट्रेलियालाई ३ विकेटले हराएको थियो।
समुह बी कै अर्को खेलमा अष्ट्रेलियाले पहिलो पटक य१९ विश्वकप खेलेको नाइजेरियालाई १० विकेटले हरायो। टस जितेर पहिला ब्याटिङ गरेको नाइजेरिया ३०.३ ओभरमा ६१ रनमा अल आउट भयो। एलिजा ओललेये २१ रन बनाए । नाइजेरियाका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। स्पिनर तनवीर संघाले ५ विकेट लिए। ६१ रनको लक्ष्य अष्ट्रेलियाले ७.४ ओभरमा कुनै विकेट नगुमाई पुरा गर्यो।
मंगलबार दुई खेल हुँदै छन्। पहिलो खेलमा समह सी बंगलादेश र स्कटल्यान्ड भिड्ने छन्। पहिलो खेलमा बंगलादेशले जिम्बावेलाई ९ विकेटले हराएको थियो। स्कटल्यान्ड पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो। समुह ए को खेलमा भारतले पहिलो पटक विश्वकप खेलि रहेको जापानसँग खेल्ने छ । पहिलो खेलमा भारतले श्रीलंकालाई ९० रनले हराएको थियो। जापानले पहिलो खेलमा न्युजिल्यान्डसँगको वर्षाको कारण १–१ अंक बाडेको थियो।