एजेन्सी– अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत आफ्नो टीमको १३ औँ म्याचका लागि पनि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले मौका पाएका छन्।
मेलबर्न स्टार्समा आवद्ध सन्दीपले बुधबार हुने एडिलेट स्टाइकर्स विरुद्धको खेलमा पनि मौका पाएका हुन्। मेलबर्नले मंगलबार ग्लेन म्याक्सवेलको कप्तानीमा १३ सदस्यीय टोली घोषणा गरेको छ। मेलबर्न र एडिलेटबीचको खेल दिउँसो १ः५५ बजेदेखि सुरु हुने छ। मेलबर्न विरुद्धको पहिलो खेलमा एडिलेट ५ रनले विजयी भएको थियो।
मेलबर्नले बुधबारको म्याचका लागि टीममा एडम जम्पा र पीटर ह्यान्सकम्ब फर्किएका छन्। उनीहरु भारत विरुद्धको वानडे सिरिजका लागि भारत भ्रमणमा गएका थिए । यस्तै मेलबर्नले जोनाथन मेर्लो र ज्याक्सन कोलम्यानलाई विश्राम दिएको छ।
एडिलेट विरुद्धको खेलका लागि मेलबर्नको टीमः ग्लेन म्याक्सवेल (कप्तान), हिल्टन कार्टराइट, बेन डंक, सन्दीप लामिछाने, सेब गोच, पीटर ह्यान्ड्सकम्ब, क्लिन्ट हिन्चलिफ, निक लार्किन, निक म्याडिन्सन, लान्स मोरिस, मार्कस स्टोइनिस, डानियल वर्रल र एडम जम्पा।