काठमाडौं– नेपाली गीत संगीतले राम्रो फड्को मारिरहेको अवस्थामा पछिल्लो समय नैतिक, बौद्धिक र आर्थिक अधिकारका कुरा उठाउँदै आएका स्रष्टाहरु यतिबेला नेपालको सबैभन्दा पुरानो र ठूलो म्यूजिक कम्पनीका रुपमा ठहरिएको म्यूजिक नेपालविरुद्ध खनिएका छन्। स्रष्टाहरु भित्रि रुपमा सामूहिक मुद्दा हाल्ने तयारीमा रहेका छन्।
म्यूजिक नेपालले थाहा पाउने वित्तिकै केही स्रष्टाहरुलाई किन्न सक्छ त्यसैले गोप्य रुपमा सामूहिक मुद्दा हाल्ने तयारी गरिरहेका हौं, एकजना स्रष्टाले भने, तर अब लुटेर खाने दिन म्यूजिक नेपालको गइसकेको छ। केही दिन अगाडि कवि तथा गीतकार डा.नवराज लम्सालले एक कार्यक्रममा भनेका थिए ‘म सरकारी कर्मचारी नभएको भए म्यूजिक नेपालमा आगो लगाउँथें’। रेडियो नेपालका धेरै सम्पत्ति म्यूजिक नेपालले बेचेर खाएको उनले आरोप लगाएका थिए।
यी गीतहरु बज्ने बजाउने प्रबर्द्धन गर्ने जस्तो एउटा कुरा होला तर त्यही गीतलाई पेनड्राइभहरुमा हालेर व्यवसाय गर्दा न ती कलाकारहरुको मुखमा जाने न रेडियो नेपाललाई हुने। जसको स्वामित्व हो, दुःखका दिनमा रेर्कड गर्याे, उत्पादन गर्याे त्यही रेडियो नेपाललाई थाहा नै छैन। त्यस्तै संगीतकार लक्ष्मण शेषले कलाकारलाई चन्दा उठाउने क्रममा नेपाली गीतको अर्बौंको कारोबार भेटिएको भन्दै मिडियामा आए।
उनले २०७१ सालमा कलाकारका लागि म्यूजिक बैंक बनाउने भनी आफ्नी आमाको सम्झनामा ३८ हजार रुपैयाँ राखेर अभियान शुरु गरे त्यही बेला कोषका लागि कसरी पैसा जुटाउने भनेर खोज्दै जाँदा एउटा सानो कागजको टुक्रा हात परेको बताए। जुन कागजमा ‘नेपाली गीतसंगीत चोरेर विश्वका धेरै देशमा अर्बौंको ब्यापार भइरहेको तथ्य फेला पर्याे।
त्यसपछि उनी बाजाहरुमा चल्ने उनका औंला नेपाली गीत बज्ने विश्वभरीका ‘स्ट्रीमिङ्ग एप्लीकेशन’, ‘म्युजिक एग्रीगेटर’, ‘रीङ्गब्याक टोन’ प्रदायक र ‘मोवाइल एप्लीकेशन’ खोज्नपट्टी लागेको बताए। उनले म्यूजिक नेपाल लगायत दर्जनौं संस्थाहरुले स्रष्टा सम्पत्ति लुटिखाएको भन्दै आएका छन्। रेडियो नेपालका गीतहरू म्युजिक नेपालसँग कसरी पुगे भन्ने ठ्याक्कै ठोस आधार कसैसँग नभएपनि चोरी भएको भने धेरैले ठोकुवा गर्न थालेका छन्।
वरिष्ठ गायक प्रेमध्वज प्रधान, गीतकार यादव खरेल लगायतका अग्रजहरु पनि यतिबेला म्यूजिक नेपाल लगायत चोरेर लुटेर खाने प्लेटफमविरुद्ध उत्रिएका छन्। उनीहरुले खुलेरै म्यूजिक नेपालले लुटेको समेत स्पष्ट पारेका छन्।हरिप्रसाद रिमाल, रानुदेवी, अरुणा लामा, तारादेवी, गोपाल योञ्जन, नारायण गोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधानलगायत जतिले पनि गाए, ती सबैले रेडियोको स्टुडियो मै गाए।
म्यूजिक नेपाल लगायतका यूट्युब च्यानल, एप्स, आइट्यून लगायतमा अग्रज स्रष्टाहरुको गीत भेटिन्छ। त्यो कसरी र कसले गर्याे भन्ने प्रमाण सहित धेरै स्रष्टाहरु अगाडि बढिसकेका छन्। यतिबेला गीतकार, संगीतकार, गायक गायिकाहरु सचेत भएर आफ्नो अधिकारका लागि अघि बढेका हुन्। केहीसमय अघि वरिष्ठ गीतकार खरेलले सरकारी मिडियाले नै स्रष्टाको सम्पत्ति लुटिखाएको आरोप लगाएका थिए।
त्यसको केही समय पनि बित्न नपाउँदै नयाँ पत्रिका दैनिकमा नवीन प्यासीले ‘आफूले सिर्जना वा उत्पादन नगरेका ५० हजार गीतको कपिराइट म्युजिक नेपालद्वारा कब्जा’ शीर्षकमा ब्यानर नै बनाए। अब एकपछि अर्को प्रमाण फेला पार्दै गएपछि स्रष्टाहरु म्यूजिक नेपाल विरुद्ध सामूहिक रुपमा मुद्दा दायर गर्ने योजनामा पुगिसेकेका छन्।
हुन त यो भन्दा अघि पनि केही गायक गायिकाहरु म्यूजिक नेपालले आफ्नो यूट्यूब च्यानलमा कपिराइट लगाएको भन्दै म्यूजिक नेपालविरुद्ध उत्रिएका थिए। तर त्यतिबेला यसरी नै सबैको सपोर्ट मिलेको भए अधिकारको लँडाइँ धेरै हुने थियो होला। रेडियो नेपालमा भन्दा धेरै अर्काइभका रुपमा म्यूजिक नेपालले आफूलाई विस्तार गरिरहेको छ।
धेरै स्रष्टाका सिर्जना अर्काइभ गर्ने निहुँमा व्यापार गरिरहेको र केही काला व्यापारीहरुले गर्दा उसलाई अझै उर्जा मिलिरहेको हुनसक्छ। यस विरुद्ध सबै जना कलाकार र स्रष्टा सर्जकहरु एक आवाज भएर अगाडि बढेको अवस्थामा म्यूजिक नेपाल ठूलो कानुनी सजाय भोग्न बाध्य नहोला भन्न सकिन्न।