काठमाडौं– हामीले सधैँ खाइरहेको फल हो, अमला। अहिले बजारमा प्रशस्त मात्रामा अमला बिक्रीका लागि ल्याइएका हुन्छन्। किनकी अहिल अमलाको सिजन हो। अमलाले मानव स्वास्थ्यमा र्पुयाउने फाइदाका विषयमा सबैलाई जानकारी नहुँन सक्छ।
धेरै किसिमको औषधिका रुपमा अमलाको प्रयोग गरिन्छ। आयुर्वेदमा ‘त्रिफला’ मध्येमा अमला पनि एक पर्छ। अमला तराई र पहाडी क्षेत्रमा फल्छ। चैत्र वैशाखतिर फूलहरू लाग्दछन्। फलहरू पहिले हरिया र पाकेपछि हल्का पहेला हुन्छन्।
अमलामा प्रशस्त मात्रामा भिटामिन ‘सी’ पाइन्छ। चिकित्सकका अनुसार ३ वटा सुन्तलामाभन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ। अमला खानाले बृद्ध–वृद्धाहरु युवाअवस्थामा जस्तै जोस जाँगर प्रदान गर्छ। तर अमलालाई दैनिक खानुपर्छ।
अमलाको औषधीय गुणहरुः
कब्जियतको लागि– अमलाको सुकेको धुलोमा हर्रो र बर्रोको धुलो बराबर मिसाई एकदुई चम्चा सुत्ने बेलामा खाँदा कब्जियतको समस्या निको हुन्छ। सुकेको अमलाको चूर्ण नियमित रूपमा पानीसँग सेवन गर्दा आउँ अपच र कब्जियत निको हुन्छ।
खानाको रुची बढाउन– दिनको दुई–तीनवटा ताजा अमला खाने वा बिहान बेलुका खाना खानुअघि आधादेखि एक चम्चा सुकेको अमलाको चूर्ण खाँदा भोक लाग्छ।
स्वास गन्हाउने रोक्न– अमलाको चूर्णले दाँत माझ्ने वा अमलाको पानीले कुल्ला गरेमा स्वास गन्हाउने समस्या हट्छ। केही समयसम्म अमला पनि नियमित रूपले खाने गर्नुपर्छ।
कपालको चाँया हटाउन– हप्तामा एकदुईपटक अमलाको चूर्ण वा त्रिफला चूर्ण पानीमा भिजाई कपालको जरासम्म पुग्ने गरी मालिस गर्नाले चाँया हट्ने गर्छ। अमला अर्थात त्रिफला चूर्ण भिजाएको पानीले नै टाउको धुनुपर्छ। यसो गर्नाले कपाल पनि लामो, चम्किलो र मजबुत हुन्छ।
आँखाको शक्ति बढाउन– अमलाको सुकेको चूर्णमा गाईको घ्यु वा मह मिसाई राती सुत्नुअघि नियमित सेवन गर्दा आँखा तेजिलो हुन्छ। मोतिविन्दु वा आँखाको अरू रोग भएमा ताजा अमलाको रस आधादेखि एक चम्चा दिनहुँ महमा मिसाई खानाले आँखाको तेजिलो बनाउँछ। सुकेको अमला वा त्रिफलाको पानीले आँखा सफा गर्ने गरेमा पनि निकै फाइदा पुग्छ।