एजेन्सी– चीनमा हालै देखिएको कोरोना भाइरस अमेरिकामा पनि पुगेको छ। एक जना व्यक्तिमा सो भाइरस देखिएको अमेरिकाले पुष्टि गरेको छ।
अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल सीडीसी ले जनाएअनुसार एकजना चीनबाट आएर सियाटलमा बस्दै आएका व्यक्तिलाई सो भाइरसको संक्रमण देखिएको हो।
सो भाइरस चीनको वुहान सहरबाट फैलिन थालेको हो। त्यसबाट अहिलेसम्म ३०० मानिसलाई संक्रमण भएको र ६ जनाको मृत्यु भएको जनाइएको छ।
यद्यपि अन्तर्राष्ट्रिय विज्ञमध्ये केहीले १ हजार ७ सय जनालाई संक्रमण भएको जनाएका छन् भने कतिपयले १ हजार ३ सयलाई भएको जनाएका छन्।उत्तर कोरियाले आफ्नो सीमा विदेशी पर्यटकका लागि अस्थायी रुपमा बन्द गरेको एक टुर अपरेटरले जनाएका छन्।
अमेरिकामा सो भाइरसको संक्रमण देखिएका व्यक्ति ३० वर्ष आसपासको उमेरका रहेको जनाइएको छ।
उनी १५ जनवरीका दिन चीनको वुहानबाट फर्केका थिए । उनको उपचार वाशिङटनस्थित एक अस्पतालमा भइरहेको जनाइएको छ। बिरामीको यात्रा विवरण हेरेर उनलाई कोरोना भाइरसको संक्रमण भएको अनुमान विज्ञहरुले गरेका हुन्।
सीडीसीका अनुसार उनलाई सो संक्रमणको पुष्टि प्रयोगशालामा परीक्षणपछि भएको हो। चिनियाँ अधिकारीहरुले सो भाइरस मानिसबाट मानिसमा सर्ने सोमबार मात्रै पत्ता लगाएका थिए।
निमोनियाको जस्तै लक्षणबाट अहिलेसम्म चीनमा ६ जनाको मृत्यु भएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन्। सो संक्रमण चीनको वुहानपछि बेइजिङ र सांघाईमा पनि देखिएको जनाइएको छ।
सो संक्रमण सन् २०१९ को अन्त्यमा वुहानस्थित सी फुड मार्केटबाट सुरु भएको अनुमान गरिएको छ। अमेरिकाबाहेक सो भाइरसको संक्रमण थाइल्याण्ड, जापान, दक्षिण कोरिया र ताइवानमा पनि देखिएको छ।ती देशमा पुगेका व्यक्ति हालै चीनको वुहानबाट नै गएको बताइएको छ।
अष्ट्रेलिया, सिंगापुर, हङकङ, ताइवान, जापानलगायतका क्षेत्रमा वुहानबाट आउने हवाई यात्रुलाई कडा निगरानीमा राख्न थालिएको छ। अमेरिकाले पनि आफ्ना लस एन्जेल्स, न्यूयोर्क, सिकागो र एटलान्टाका विमानस्थलमा कडा निगरानी थालेको छ।
अष्ट्रेलियामा हालै एकजना वुहानको भ्रमण गरेर आउने व्यक्तिको परीक्षण भइरहेको छ। सो सम्बन्धमा अहिलेसम्म सबैभन्दा कडा नीति उत्तर कोरियाले मात्रै लिएको छ।बीबीसी