काठमाडौं– बालबालिकाहरुमा आवश्यक पोषण तत्वहरु पुगेन भने कुपोषण हुने तथा विभिन्न किसिमका रोग तथा संक्रमणको जोखिम हुने गर्छ। कुपोषण भएमा बालबालिकाको शरीरको तौल कम हुने, छाला खुम्चिएर चाउरी पर्ने गर्छ र कुपोषण भएको बालकालिकालाई झाडापखला लाग्ने गर्छ।
यो त, बालबालिकालाई सही मात्रामा पोषक तत्व नपुग्दा हुने असरहरु, तर पोषण तत्व भएका खानेकुरा धेरै खुवाउदा पनि बालबालिकाको स्वास्थ्यमा असर पुग्दछ। पोषणयुक्त धेरै खान दिदैमा बालबालिका स्वास्थ्य हुँदैनन्। बच्चालाई स्वस्थ राख्नका लागि सन्तुलित मात्रामा पोषक तत्व भएका खानेकुरा खुवाउनुपर्छ।
उमेर अनुसार शरीरलाई आवश्यक पर्ने पोषक तत्व बढी भएमा शरीरमा विभिन्न किसिमका विकृतिहरु पैदा हुन्छ। पोषक तत्व बढी हुनु भनेको अधिक पोषण हुनु हो।
अधिक पोषणले स्वास्थ्य समस्याः
मुटुरोग– बालबालिकालाई पोषण तत्व बढी भएमा उनीहरुलाई मुटुरोगको जोखिम उच्च हुन्छ। बालबालिका लाई मुटुरोगबाट बचाउँन उनीहरुको उमेर अनुसार आवश्यक पर्ने मात्रा खाना खुवाउनुपर्छ।
मधुमेह– बालबालिकाको शरीरलाई आवश्यक पर्ने भन्दा बढी पोषण तत्व भएमा उनीहरुमा मधुमेहको समस्या बाल्यकालदेखि नै देखिन सक्ने सम्भावना अधिक हुन्छ। सानोमा धेरै मोटोपना भएको बालबालिकामा वयस्कमै मधुमेह हुने सम्भावना बढी हुन्छ।
मोटोपना– बालबालिकालाई उनीहरुको उमेरबारे ख्याल नै नगरी धेरै पोषणतत्व भएको खाना खुवाउँदा बालबालिकामा मोटोपनाको समस्या देखिन्छ। बाल्यकालदेखि नै मोटोपनाको समस्या भएमा त्यस्ता बालबालिकालाई पछि विभिन्न किसिमका रोगहरुको जोखिम उच्च हुन्छ।
जोर्नी तथा पिठ्यु दुख्ने– अधिक पोषणले बालबालिकाको शरीरमा अनावश्यक मांशपेसीको मात्र बढ्छ। तर उनीहरुको शरीरमा हड्डीको विकास उमेर अनुसार नै भइरहेको हुन्छ। जसले गर्दा बालबालिकामा जोर्नी तथा पिठ्यु दुख्ने समस्या हुन्छ।
पित्तथैली र पाचन प्रणाली सम्बन्धी समस्या– अधिक पोषणले बालबालिकाको पित्तथैली र पाचन प्रणालीमा समस्या ल्याउँछ।
उच्च रक्तचाप– अधिक पोषणले बालबालिकामा उच्च रक्तचापको समस्या देखिन्छ।