धादिङ– धादिङको दार्खामा मंगलबार राति एकजनाको हत्या भएको छ। खनियाँबास गाउँपालिकास्थित दार्खाको घ्याङ्सामा खुकुरी प्रहार गरी एकजनाको हत्या भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।
खुकुरी प्रहारबाट दार्खा घ्याङ्साका सन्त तामाङको ज्यान गएको छ भने रविन तामाङ गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ। घाइते तामाङलाई उपचारको लागि काठमाडौं लगिएको छ ।
घटनामा सङ्लग्न रहेको आरोपमा नेत्रावती डबजोङ गाउँपालिका १ मार्पाकका राम तामाङ र रोशन तामाङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ। दार्खामा जारी अन्तर वडा स्तरीय फुटबल प्रतियोगितामा भएको विवादले उग्ररुप लिएपछि यो घटना भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका रोशन तामाङ र राम तामाङ आफ्नै दाजुभाइ रहेको प्रहरीको भनाइ छ। घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।