काठमाडौं– अहिले धेरै मानिसहरु पेसाले जे सुकै भएतापनि कलाकारितामा डेब्यु गर्न पाए एकदमै गर्व गर्दछन्। अध्ययनले चिकित्सक पेशातर्फ उन्मुख भए पनि मनभित्र भने संगीतको तरङ्ग तरङ्गित भइरहेको छ गायिका डा.स्नेही श्रेष्ठमा।
उनी पेशाले चिकित्सक हुन्। तर त्यो पेशामा रहँदा रहँदै उनी गायिकाको रुपमा नेपाली संगीत क्षेत्रमा पदार्पण भएकी छन्। संगीतकार पिता शक्ति बल्लभ नेपाली संगीतको क्षेत्रमा एउटा दरिलो खम्बा हुन्। उनका संगीतले नेपाली चलचित्र संगीत तथा आधुनिक संगीतले गर्व महसुस गरेको छ। तिनै संगीतकार शक्ति बल्लभकी छोरी हुन् डा.स्नेही श्रेष्ठ।
स्नेहीले बाल्यअवस्थामा पनि बालगायनका माध्यमले एल्बमहरु बजारमा ल्याएकी थिइन्। बालगीतमा सानैदेखि आफ्ना स्वरले सिञ्चित गरेकी डा.स्नेही यतिबेला भने संगीतको दुनियाँमा औपचारिक रुपमा गायनमा डेब्यू गरेकी हुन्।
‘म त छोरी सानै छु बुवा, जान्छु पढ्न गर्दिन विवाह’ गीतले बालविवाहविरुद्धको आवाज उठाएको छ। उनको स्वर सुन्दा हजारौं गीतमा स्वर दिइसकेको आभास हुन्छ। डा.स्नेहीको गायनले औपचारिकता पाउँदै गर्दा स्टुडियोमा गीत सुन्न बसेका धेरै स्रष्टाहरुले महिला गायनमा राम्रो भविष्य भएको बताइरहेका थिए।
साउण्ड डिजाइन रेकर्डिङ स्टुडियो नक्सालमा रेकर्डिङ भएको उक्त गीत मिक्सिङपछि सुनाइएको थियो। गीत सुनिरहेका गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटाले डा.स्नेहीको गायन नयाँ गायिका जस्तो नलागेको बताउँदै महिला गायनको पछिल्लो समयको अभावमा डा.स्नेहीको भविश्य जोडिएको बताए।
त्यस्तै गायक सुमित खड्काले डा.स्नेही श्रेष्ठ गायनका हिसाबले अब्बल रहेको बताए। त्यस्तै गीतको रेकर्डिङ तथा मिक्सिङको कार्य गरिरहेका भोला पौडेलले रेकर्डिङ क्रममा नै उनी गायकीप्रति आफू सन्तुष्ट रहेको बताए। डा.स्नेही श्रेष्ठको स्वर रहेको गीतले विपन्न परिवारमा जन्मिएका छोरीको पढ्ने इच्छा र व्यथा समेटेको छ।
मनभरि पढ्ने इच्छा बोकेकी एउटा बालिकालाई बालविवाह गराउन हुन्न भन्ने सन्देश गीतमा पाइन्छ। गीतकार ध्रुवराज पौडेलको शब्द एवं संगीतकार शक्ति बल्लवको संगीत रहेको छ। मनोहर सुनामको संगीत संयोजन रहेको यस गीतको रेकर्डिङ र मिक्सिङको जिम्मेवारी भने भोला पौडेलले लिएका छन्।