एजेन्सी– अर्जेन्टिनी फरवार्ड सर्जियो अगुइरोको निर्णायक गोलमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा संघर्षपुर्ण जित निकालेको छ। सिटीले सेफिल्ड युनाइटेडमाथि १–० को संघर्षपुर्ण जित निकालेको हो।
ब्रामन लेन सेफिल्डमा मंगलबार राति भएको खेलमा सिटीको जितमा सर्जियो अगुइरोले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो। त्यसअघि खेलको ३६औं मिनेटमा ग्याब्रियल जेसस पेनाल्टीमा चुक्दा सिटी अग्रता लिनबाट चुकेको थियो। खेल भर नै घरेलु टोली सेफिल्डलाई दवावमा राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो।
खेलको आठौं मिनेटमा जिनचेन्कोको कर्नरमा रोड्रीको बक्स बाहिरको प्रहार बारमा लागेर बाहिरिदा सिटी अग्रता लिनबाट चुक्यो। १९औं मिनेटमा रहिम स्ट्रलिङको प्रहार सेफिल्डका गोलरक्षक डिन हेन्डरसनले बचाए। ३६औं मिनेटमा सिटीले पेनाल्टीको अवसर पायो। क्रिस वासामले रियाद महारेजलाई पेनाल्टी बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा जेसस चुकेका थिए।
६३औं मिनेटमा वासामको पासमा म्याक ब्रुनको प्रहार सिटीका गोलरक्षक इडर्सन मोरेसले मुस्किलले बचाए। ७३औं मिनेटमा म्याकब्रुनले अर्काे मौका गुमाउदा सोही मिनेटमा अगुइरोले काउन्टर एट्याकमा गोल गर्दै सिटीलाई खेलमा अग्रता दिलाए।
केभिन डि ब्रुयनको पासमा सब्सिच्युट अगुइरोले गोल गर्न सफल भएका थिए। उनी खेलको ६७औं मिनेटमा जेससको स्थानमा मैद्यान प्रवेश गरेका थिए। त्यसपछि थप गोल निस्कन नसक्दा सिटी १–० ले विजयी हुन सफल भयो।
जितपछि सिटी २४ खेलबाट ५१ अंक जोडेर दोस्रो स्थानमा यथावत रहँदा पराजित सेफिल्ड ३३ अंक जोडेर सातौ स्थानमा रहेको छ। सिटी दुई खेल कम खेलेको शीर्षस्थानको लिभरपुलभन्दा १३ अंकले पछि छ। सिटी तेस्रो स्थानको लेस्टर सिटीभन्दा ६ अंकले माथि छ।
अन्य नतिजा
बर्नमाउथविरुद्ध ब्राइटन (३–१)
एस्टन भिल्लाविरुद्ध वाट्फोर्ड (२–१)
क्रिस्टल प्यालेसविरुद्ध साउथह्याम्पटन (०–२)
एभर्टनविरुद्ध न्यु क्यासल (२–२)