काठमाडौं– त्रिभुवन आर्मी क्लब आरबिबी एनभिए पुरुष क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ। मणीमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराउँदै साविक विजेता आर्मी अन्तिम चारमा पुगेको हो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा बुधबार भएको खेलमा आर्मीले मणिमुकुन्दलाई २५–१९,२५–१८ र २५–१७ ले हराएको थियो। पुरुषतर्फका बाँकी तीन क्वार्टरफाइनल आजै हुनेछन्।
नेपाल भलिबल संघ (एनभिए) को आयोजना तथा राष्ट्रिय वाणिज्य बैंक (आरबिबी) को मुख्य प्रायोजनमा जारी प्रतियोगिताको यो पाँचौं संस्करण हो। महिलातर्फ भने आज कुनै खेल छैनन्।
पुरुष र महिला दुवैतफैको सेमिफाइनल बिहीबार र फाइनल शनिबार हुनेछन्। महिलातर्फको सेमिफाइनलमा साविक विजेता नेपाल एपिएफ र नेपाल पुलिस क्लब तथा होंगान्जी न्यू डायमण्ड स्पोर्टस् क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताका दुवैतर्फका विजेताले २ लाख, दोस्रो हुने टोलीले १ लाख र तेस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। त्यस्तै दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार पाउनेछन्। विधागत उत्कृष्टले समान १० हजार रुपैयाँ पाउनेछन्।
पुरुष क्लब च्याम्पियनसिपका आज हुने बाँकी क्वार्टरफाइनलख खेल
एपिएफविरुद्ध बुद्ध टोल
पुलिसविरुद्ध नयाँ बजार
हेल्प नेपालविरुद्ध बुलबुले रारा