पहिलो कोणः यदि अध्यक्ष पदको प्रत्यासी प्रकाश पाण्डे बाहेक अरु कोहि हुन्थ्यो भने सर्वसम्मती सम्भव थिएन्। दोश्रो कोणः पुगनपुग २ वर्षअघि ईक्यान नफुटेको भएपनि यो सर्वसम्मती कुनै हालतमा सम्भव हुने थिएन्। तेश्रो कोणः अधिवेशनको अन्तिम समयमा बदलिएको परिस्थितीमा ‘डेमोक्रेटिक समुह’को ‘सफ्ट बहिष्कार’ सर्वसम्मती जुटाउने संजिवनी बुटि बन्यो। नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)को नयाँ कार्यसमितीको सर्वसम्मतीमा चयन प्रकृया यहि त्रिकोण वरिपरि घुमेर नै भयो। प्रकाश पाण्डेको पुर्नउदय व्यवसायबारे यथेष्ठ ज्ञान, स्पष्ट वाकशैली, नेतृत्वको अनुभव, शालिन व्यक्तीत्व, धैर्यवान र कुटनितिक चरित्र – यस्तै यस्तै खालका परिचय बोक्छन प्रकाश पाण्डे। उनले २०७२ फागुन १५ गते देखी २०७५ बैसाख ८ गतेसम्म ७ सय ८४ दिन ईक्यानको नेतृत्व गरे। पण्डेको पहिलो कार्यकाल सांगठनिक दृष्टिकोणमा तुलनात्मक रुपमा सफल नै मानिन्छ भने व्यक्तिगत रुपमा अत्याधिक सफल। अध्यक्षको रुपमा उनीबाट भएका कमिकमजोरी थाती राखेर निकालिएको निष्कर्ष हो, ‘प्रकाश पाण्डेले कठिन कार्यसमितीको साथमा आफ्नो कार्यकाल पुरा गर्न सफल भए।’ ईक्यानभित्रका दुरदर्शी नेताको रुपमा चिनिने प्रकाश पाण्डेले त्यसपछि बिष्णुहरी पाण्डेलाई अध्यक्षमा निर्वाचित गराउन पनि राम्रै भुमिका निर्वाह गरे। प्रकाश पाण्डेकै अगुवाईमा आईडिपीका सञ्चालक निरज सिटौलालगायतको गतिलो सहयोग पाएका एस.के. बस्नेतलाई झिनो मतले पराजित गर्दै बिष्णुहरीले बाजि मारेका थिए। त्यसपछि ईक्यानको निवर्तमान अध्यक्षको भुमिकामा रहेका प्रकाश पाण्डेको अहिले अध्यक्षको रुपमा पुर्नआगमन भएको छ। कृष्णहरी केसीको बालहठ र पुर्वअध्यक्षत्रयको औसत प्रदर्सन ‘ईक्यानको बिधान संसोधन नै गरेर मलाई सर्बसम्मत अध्यक्ष नै दिए पनि म टिके मनोनयन खान्न। प्रजातान्त्रिक प्रणालीबाट चुनाव भई जितेमा मात्र कुनैपनि पद स्विकार्छु।’ – सर्वसम्मतीबाट मनोनित हालका तृतिय उपाध्यक्ष कृष्णहरी केसीले अधिवेशसनअघि आफ्नो फेसबुकमा ‘पोष्ट’ गरेको ‘स्ट्याटस’ हो यो। यसअघिको निर्वाचनमा पनि स्वतन्त्र उम्मेद्वारी दिएर फराकीलो मतान्तरले पराजित भएका केसीले यसपटक पनि ईक्यान नेतृत्व चयन प्रकृयामा गतिलो ‘भाँडभैलो’ मच्चाए। पदाधिकारी चयनका लागि सर्वसम्मतीको माहोल बनाउने जिम्मेवारी पाएको ईक्यान पुर्वअध्यक्षत्रयको लागि सबैभन्दा ठुलो तगारो नै यिनै कृष्ण केसी थिए। ‘डेमोक्रेटिक खेमा’ले अन्तिम समयमा आएर नेतृत्व चयन प्रकृया बहिष्कार गर्नुको मुख्य कारण नै कृष्ण केसी बने। लामो कसरतपछि प्रकाश पाण्डे र महेशबाबु तिमिल्सीना समुहविचको भागवण्डा मिलाएर बनेको सर्वसम्मतीको माहोल कृष्ण केसीले उपाध्यक्ष पदमा उम्मेद्वारी दिने अडान लिएपछि भाँडियो। परिणाम ‘डेमोक्रेटिक समुह’ले निर्वाचन ‘सफ्ट बहिष्कार’ गर्यो अनि सर्वसम्मती जुटाउनेहरुले कृष्णहरीलाई तृतिय उपाध्यक्ष दिएर कार्यसमिती घोषणा गरिदिए। उपाध्यक्ष पदका लागि कृष्णहरीले लिएको ‘बालहठ’ले गर्दा राजेन्द्र रिजालजस्ता ईक्यानका लागि आवश्यक व्यक्ती बाहिरिनुपर्यो। यो सब प्रकृयामा पुर्वअध्यक्षत्रयको भुमिका खासै सन्तुष्टिजनक देखिएन्। बरु प्रकाश पाण्डे, बिष्णुहरी पाण्डे र स्वयम् उम्मेद्वारहरुले नै सर्वसम्मतीको माहोल बनाउन भुमिका निर्वाह गरे। नबनोस नेकपाको भ्रातृ संगठन नेपालमा अस्तित्वमा रहेका शैक्षिक परामर्श व्यवसायीहरुको छाता संगठनमध्येकै सबैभन्दा बलियो र ठुलो छाता संगठन हो, ईक्यान। अन्यको तुलनामा यसको गरिमा पनि उच्च छ। तर, पछिल्लो समय ईक्यानको साख खस्कदो छ। पछिल्लो केहि वर्षको तथ्याङ्क हेर्दा ईक्यानको सदस्य संख्यामा घटबढ भइरहेको देखिन्छ। नयाँ व्यवसायीहरु सदस्यता लिएर भित्रिरहँदा पुरानाहरु सदस्यता नविकरण नगरी ईक्यानबाट बाहिरिँदै पनि छन्। यसरी ईक्यान छाड्ने सदस्यहरुमध्ये धेरैजसो ‘डेमोक्रेटिक खेमा’का रहेका छन्। हालको नेका पनि ‘डेमोक्रेटिक’ विचारधारा बोक्नेहरुको संस्था हो, जुन ईक्यानबाट नै चोईटिएर अस्तित्वमा आएको हो। ‘डेमोक्रेटिक खेमा’का निरज सिटौलाको आशिंक लगानीमा नेपाल भित्रिएको आईडिपी (शैक्षिक परामर्श दिने संस्था)को बिरोधमा ईक्यान संस्थागत रुपमै उत्रिएपछि सिटौलालगायत सरोज कुमार (एस.के.) बस्नेत, सन्तोष प्याकुरेल, राकेश श्रेष्ठ, रमन कोईरालाको नेतृत्वमा नेका गठन प्रकृया शुरु भएको थियो। अहिले पुनः नेतृत्व चयन गर्ने प्रकृयामा ‘डेमेक्रेटिक खेमा’लाई एक किसीमले बाईपास नै गरेर सर्वसम्मतीमा कार्यसमिती चयन हुँदा ईक्यानभित्रका धेरै सदस्यहरु रुष्ट/असन्तुष्ट देखिन्छन्। यसरी ईक्यानबाट ‘डेमोक्रेटिक’ विचारधाराका सदस्यहरु बाहिरीदैँ जाने संकेत देखिन्छ। आईडिपी बहिष्कारः अपरिपक्व पब्लिसिटी स्टन्ट प्रकाश पाण्डे ईक्यान अध्यक्ष बनेपछी बसेको ईक्यानको पहिलो बैठकले निर्णय गर्यो – आईडिपी आईइएलटिएससँग सहकार्य नगर्ने। अर्थात ईक्यानमा आवद्ध ‘कन्सललटेन्सी’हरुले आईडिपीबाट आईइएलटिएस बुकिङ नगर्ने संस्थागत निर्णय गर्यो। उच्च महत्वका साथ ईक्यानले गरेको यो निर्णय हास्यास्पद छ। एउटा जिम्मेवार व्यवसायिक संगठनले एउटा व्यवसायमाथि यसरी ‘प्रतिवन्ध’ लगाउने कार्य कम्तीमा प्रकाश पाण्डेको नेतृत्वमा होला भन्ने सायदै चिताइएको थियो। केहि वर्षअघि ईक्यानका जिम्मेवार व्यक्तीहरु (प्रकाश पाण्डेलगायत) कै पहलमा भित्रिएको आईडिपी आईइएलटिएसमाथि लगाइएको प्रतिवन्ध ईक्यानको ‘अपरिपक्व पब्लिसिटी स्टन्ट’ मात्र देखिएको छ। किनभने, ईक्यान सदस्य संस्थाहरुले अझै पनि आईडिपीबाटै आईइएलटिएस ‘बुकिङ’ गरिरहेकै छन्। अबको बाटो... शैक्षिक परामर्श व्यवसायीहरु आफुँलाई शिक्षासेवी भन्न रुचाउँछन्। परामर्श व्यवसायीहरुले गर्ने गतिविधी पनि शिक्षाईतर नै घुमेको पाईन्छ। यो व्यवसायलाई नियमन गर्ने सरकारी निकाय पनि शिक्षा मन्त्रालय नै हो। तर, ईक्यानको महाधिवेशनमा एउटा गजबको दृष्य देखियो। ईक्यान अधिवेशनको प्रमुख अतिथी पर्यटन तथा संस्कृतीमन्त्री योगेश भट्टराई थिए। शैक्षिक गतिवीधि गर्ने संस्थाको मुख्य छाता संगठनको अधिवेशनमा देखिएको यो दृष्यले धेरैको मन कुँडियो। पर्यटनमन्त्रीको आगमन गरिमामय भएपनि शिक्षा मन्त्रालयबाट ईक्यानजस्ता संस्थाहरु उपेक्षित हुनु दुखद हो। अधिवेशनमात्र होईन ईक्यानले गर्ने अन्य गतिविधी/कार्यक्रमहरुमा पनि शिक्षा मन्त्रालयको उल्लेख्य सहभागिता देखिदैन्। आफुँलाई शिक्षासेवीहरुको संस्था दावि गरिरहँदा सम्बन्धित सरकारी निकायले देखाएको उपेक्षा परामर्श व्यवसायीहरुको लागि दुखद हो। यो अवस्थामा ईक्यानले शिक्षा मन्त्रालयलाई बिश्वासमा लिन अझै कसरत गर्नुपर्ने देखिन्छ। यतिमात्र होईन, परामर्श व्यवसायीहरुले आफुँले उच्च शिक्षा अध्ययनका लागि बाहिर देश पठाएका विद्यार्थीहरुको अभिभावकको समेत बिश्वास जित्न नसकेको अवस्था छ। यो अवस्थालाई चिर्नका लागि ईक्यानले अभिभावकलक्षित योजना बनाएर उनीहरुसँगको सामिप्यता बढाउन सक्नुपर्छ। व्यवसायिक हितका लागि लागि खेल्नुपर्ने भुमिका त छदैँछ।