काठमाडौँ, २४ माघ – नेपालमा अहिले चलचित्र तथा भिडियो अवार्ड धमाधम आयोजना भइरहेका छन्। साथै, नेपालबाहिर पनि अवार्ड आयोजना गरिने प्रचलन बढेको छ। वर्षमा जति अवार्ड आयोजना भए पनि विवादरहित भने हुन सकेका छैनन्।
सन् २०१९ को जुनमा हङकङमा ‘एभरेष्ट इन्टरनेशनल फिल्म अवार्ड’ आयोजना हुने भएको छ। राजधानीमा बुधबार पत्रकार सम्मेलन गर्दै अवार्डबारे जानकारी गराइयो। एभरेष्ट इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडले २० विधामा पपुलर अवार्ड प्रदान गर्ने आयोजकमध्येका एक लोकराज लिम्बूले बताए।
एक फिल्मकर्मीलाई लाइफ टाइम अचिभमेन्टद्वारा सम्मान गरिने आयोजकले जनाएको छ। अवार्ड हङकङको वानचाईस्थित ‘क्विन एलिजावेथ स्टेडियम हल’मा आयोजना हुनेछ। त्यस्तै आगामी मार्चमा नोमिनेशन सार्वजनिक गर्दै अवार्डको डेट जानकारी गराइने आयोजकले बताएको छ।
कार्यक्रमको संयोजन नेपालमा संगीक्षा फिल्मस प्रा.लि.को तर्फबाट अध्यक्ष मनोज केसीले गर्नेछन्। त्यस्तै अवार्ड कार्यक्रममा नेपालबाट ६० जनाभन्दा बढी कलाकार, प्राविधिक र पत्रकारको सहभागिता रहनेछ भने अवार्डमा सहभागी सम्पूर्णको खर्च आयोजकले व्यहाेर्ने अध्यक्ष केसीले बताए।