काठमाडौं – दुधबाट बनिने दहीलाई अमृत खाद्य भने फरक पर्दैन। यसमा क्याल्सियम र भिटामीन डी पर्याप्त मात्रामा पाइने गर्छ, जसले हाम्रो हड्डीलाई बलियो बनाउछ। दूधजन्य खानेकुरा क्याल्सियमको सबैभन्दा राम्रो स्रोतहरुमध्येको एक हो।
हड्डी तथा दाँतलाई स्वस्थ राख्न तथा तिनको विकास हुनको लागि क्याल्सियम अत्यावश्यक हुन्छ। त्यस बाहेक क्याल्सियमले रगत जम्न, घाउहरु निको हुन तथा रक्तचापलाई सही अवस्थामा राख्न समेत सहयोग गरिरहेको हुन्छ। दहीमा भिटामीन बी६ र बी१२, रिबोफ्लाविन, पोटासियम र म्याग्नेसियम समेत हुन्छ। त्यसैले दही हाम्रो मुटुको लागि अति उपयोगी बस्तु हो।
स्वस्थ कोलेस्ट्रोल, स्वस्थ्य रक्तचाप
नियमित दहीको सेवनले हाम्रो रगतमा कोलेस्ट्रोलको मात्रा र रक्तचाप नियन्त्रित रहन्छ। एउटा अध्ययनका अनुसार, दही नखानेहरुको तुलनामा दही खानेहरुको पाचन प्रणाली सही हुने, बडी मास इन्डेक्स कम हुने, कम्मर पातलो हुने गरेको पाइएको छ।
नियमित रुपमा दही सेवन गर्नाले तौल पनि घट्छ। सबैलाई थाहा भएकै कुरा हो, शरीरको तौल अनावश्यक रुपमा मोटो नहुँदा हामीलाई मुटुसम्बन्धी रोगहरु लाग्ने सम्भावना पनि कम भएर जान्छ। जब हाम्रो शरीर अनावश्यक मोटो हुँदैन, त्यसको सोझो फाइदा मुटुलाई नै पुग्छ।
शरीर अनावश्यक रुपमा मोटो नभएपछि शरीरका सबै भागहरुमा रगतको माध्यमबाट पोषक तत्वहरु वितरण गर्ने मुटुले पनि अनावश्यक रुपमा बढी काम गर्नु पर्दैन। त्यसबाहेक, अनावश्यक रुपमा मोटो हुँदा देखापर्ने रक्तचाप, कोलेस्ट्रोलका समस्या लगायतका मुटुसम्बन्धी समस्याहरु सन्तुलित तौल हुँदा देखापर्ने सम्भावना कम रहन्छ।