काठमाडौं– चक्लेटी नायक सलोन बस्नेत मुख्य नायकको रुपमा त्यति सफल हुन सकेनन्। उनले लीड क्यारेक्टरको रुपमा काम गरेका चलचित्र बक्स अफिसमा खासै सफल छैनन्।
तर, सलोन चलचित्रमा भने चटनीको रुपमा प्रस्तुत हुन्छन्। उनले अभिनय गरेका चलचित्रमा मुख्य नायक नै छाँयामा पर्ने अवस्था आउँछ। उनै सलोनलाई निर्देशक झरना थापाले फागुण १३ गतेबाट छायाँङ्कनमा जान लागेको चलचित्र ‘ए मेरो हजुर–४’ मा पनि अनुबन्धित गरेकी छिन्।
यो चलचित्रमा नायक अनमोल केसी र नायिका सुहाना थापा मुख्य भूमिकामा रहनेछन्। सलोनलाई दर्शकले अनमोलको साथीको रुपमा देख्न पाउनेछन्। उसो त सलोनले झरनासँग सहकार्य गरेको यो पहिलो चलचित्र भने होइन। ‘ए मेरो हजुर २ र ३’ मा पनि उनले काम गरेका थिए।
सलोनका फ्यानहरु पनि धेरै छन्। उनले अभिनयको राम्रै तारिफ पाउँदै आएका छन्। यसरी हेर्दा, सलोनबिना यो हिट सिरिज अपुरो नै रहने देखिन्छ।