पाल्पा – जिल्लामा दरबन्दी अनुसार प्रहरी नहुँदा सेवा प्रवाहमा समस्या देखिएको छ। चार सय ५८ प्रहरी हुनुपर्नेमा अहिले तीन सय १३ प्रहरी मात्र कार्यरत छन्। करिब १४५ प्रहरीको अझै अभाव देखिएको हो। प्रहरीको दरबन्दी अनुसार जनशक्ति अभावले प्रहरीलाई छिटोछरितो रुपमा सेवा प्रवाह गर्न समस्या देखिएको हो। करिब एक महिनादेखि प्रहरी नायब उपरीक्षकको अभाव देखिएको छ।
जिल्ला प्रहरी कार्यालयमा कायरत डिएपी कृष्णराज सापकोटाले अवकाश प्राप्त गरेपछि सो पद खाली हुँदै आएको हो। त्यसैगरी प्रहरी निरीक्षकमा तीन दरबन्दीमा दुई मात्र कार्यरत छन्। प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले जिल्लामा दरबन्दी अनुसार प्रहरी नहुँदा जिल्ला प्रहरी कार्यालय मातहतका चौकीमा प्रहरी कम हुँदा समस्या हुँदै आएको बताएका छन्। कतिपय चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्व हुनुपर्नेमा प्रहरी हबल्दारले नेतृत्व समालेका छन्।
प्रहरीको दैनिक प्रशासनिक कामदेखि अपराध अनुसन्धानमा समेत प्रहरी कम हुँदा समस्या हुँदै आएको प्रउ जिसीको भनाइ छ। जिल्लाभर प्रहरी सहायक निरीक्षकमा ४१ को दरबन्दी भए पनि अहिले जिल्लामा २२ जना कार्यरत छन्। हबल्दारमा ९३ को दरबन्दी भए पनि ७० मात्र कार्यरत छन्। प्रहरी जवानमा २९२ दरबन्दीमा १९८ रहेका छन्। प्रहरी सहयोगी १४ दरबन्दी कायम गरिए पनि हाल सात मात्र कार्यरत रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले बताएका छन्। (रासस)