डोटी – यतिबेला सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुर तथा डोटी जिल्ला सदरमुकाम सिलगढीमा निकै चहलपहल बढेको छ। चहल पहलसँंगै यहाँका बजारमा समेत रौनक छाएको छ। बिहीबार हुने राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका स्थानीय तहका प्रमुखउपप्रमुख मतदानका लागि यहाँ आउन थालेपछि बजारमा रौनक छाएको हो। मतदान गर्न आउने जनप्रतिनिधिका कारण यहाँका बजारमा रहेका होटेल तथा अतिथिगृह भरिभराउ हुन थालेको वर्षा होटेल दिपायल पिपल्लाका गणेश बोहराले बताएका छन्।
उनले भने, ‘जनप्रतिनिधिहरुले यहाँका होटेल, गेष्ट हाउस दुई दिनका लागि बुक गरेका छन्, बजारमा व्यवसाय पनि राम्रै फष्टाएको छ।’ निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेशको मतदानस्थल जिल्ला सदरमुकाम सिलगढीस्थित पद्म पब्लिक मुक्तिनायारण माविमा तोकेपछि प्रदेश तथा मन्त्री, सांसद, जिल्लाका स्थानीय तहका प्रमुखउपप्रमुख अहिले डोटी आउन थालेका छन्। यहाँका कतिपय जिल्लाबाट मङ्गलबार राति नै प्रमुखउपप्रमुख दिपायल, राजपुर तथा सिलगढी आइसकेकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मतदानका लागि आउने जनप्रतिनिधिको स्वागतका लागि दिपायल सिलगढी नगरपालिकाले विभिन्न ठाउँमा स्वागतद्वार निर्माण गर्नाका साथै आवासका लागि खाली भएका सरकारी भवनमा व्यवस्था मिलाएको नगर प्रमुख मञ्जु मलासीले बताएका छन्।
उनले भने, ‘निर्वाचनमा भाग लिन आउनुहुने सबै जनप्रतिनिधिहरुलाइ सजिलो र सहजताका लागि हामीले आवासको व्यवस्था मिलाएका छौँ, सबै जनालाई जिल्लामा राम्रो स्वागत गर्ने छौँ।’ सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभाका लागि रिक्त महिला एक र अन्य समूहको एक गरी दुई पदका लागि बिहीबार निर्वाचन हुँदैछ। राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसका उम्मेदवारले मात्रै उम्मेदवारी दर्ता गराएका छन्। सत्तारुढ नेकपाका तर्फबाट अछामका तारामान स्वाँर र कैलालीकी शारदा भट्ट तथा काँग्रेसबाट कैलालीकै तुलसी देवकोटा र बैतडीका प्रताप ठगुन्नाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिएका छन्। निर्वाचनमा सुदूरपश्चिमका प्रदेशसभा सदस्य ५३ र स्थानीय तहका प्रमुखउपप्रमुख तथा अध्यक्षउपाध्यक्ष १७६ गरी कुल २२९ मतदाता छन्। राष्ट्रियसभामा सुदूरपश्चिम प्रदेशबाट रिक्त दुई पदमध्ये एक महिला तथा एक पुरुष रहेको मुख्य निर्वाचन आयोगको कार्यालय सुदूरपश्चिम प्रदेश डोटीले जनाएको छ।
दुई मतदान केन्द्र रहेको निर्वाचनमा सोही स्थानमा ‘क’ र ‘ख’ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिएका छन्। निर्वाचनमा आफ्ना उम्मेदवारलाई सहयोग पु¥याउने उदेश्यले नेकपा र काँग्रेसका केन्द्रीयस्तरका नेतासमेत अहिले डोटी आइपुगेको छ। केन्द्रीयस्तर तथा प्रदेशस्तरका नेताहरु जिल्लामा आएपछि कुनै बेला सुनसान भएको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुर तथा जिल्ला सदरमुकाम सिलगढी चहलपहलमय देखिन्छ। (रासस)