काठमाडौं– समाजमा जातीय छुवाछुतले गर्दा सामाजिक असमानता निम्त्याएको भन्ने कुरा सबैलाई जानकारी नै छ। दलित भएका कारण समाजबाट हेपिनु पर्ने वा अपमानित हुनुपर्ने घटना नयाँ होइन।
यो कथा धेरै सुन्दै, पढ्दै, देख्दै आइरहेको कथा हो। पुस्तकदेखि चलचित्रको पर्दासम्म यस्ता कथाहरु आइसकेका छन्। यसै कथालाई अहिले मण्डला थिएटरले नाटकको रुप दिएको छ। दलित भएकै कारण अपमानित हुनुपर्ने विषयमा नाटक ‘झिम्के मामा’ मञ्चन भइरहेको छ।
एउटा देउराली गाउँ छ। सुन्दर अनि शान्त। त्यसै गाउँका हिरो हुन्, ‘झिम्के’। झिम्के सुन्दर रुपले गर्दा हिरो भएका होइनन्, नच चलचित्र खेलेर पनि हिरो भएका हुन्। गाउँ विकासको लागि ठुलो योगदान दिएकाले झिम्के सबैको नजरमा हिरो बनेका हुन्। झिम्के कै पहलमा गाउँमा मन्दिर बनेको छ। बाटो खनिएको छ।
सबैको घरमा पानीको धारा पुगेको छ। मदा–पर्दा काँध थाप्ने पनि झिम्के नै हुन्। कसैलाई साह्रो–गाह्रो परिहाल्यो भने झिम्केलाई नै सम्झिन्छन् गाउँलेहरु। तर, दिनरात खटेर सुन्दर बनाएको देउराली गाउँ झिम्के जन्मिएको गाउँ भने होइन। उनी ४ वर्षअघि अर्कै गाउँबाट त्यहाँ आइपुगेका हुन्।देउराली गाउँमा उनले दिदी–भिनाजु बनाएका छन्।
भिनाजुलाई रगत दिएका उनी त्यसै परिवारसँग बस्दै आएका छन्। दुई भान्जालाई झिम्केले निकै प्रेम गर्छन्। भन्जाहरु पनि झिम्के भनेपछि मरिहत्ते गर्छन्। सबैको नजरमा हाई–हाई छन्, झिम्के। तर, एकदिन उनको यो ‘हाई–हाई’ एकदिन सपना जसरी टुटिदिन्छ। जब गाउँका पण्डित काकाले झिम्के दलित भएको पत्तो पाउँछन्।
देउराली गाउँमा कोलाहल मच्चिन्छ। गाउलेहरु झिम्केलाई घृष्णा गर्न थाल्छन्। झिम्के कारण गाउँलाई श्राप लागेको गाउँलेहरुको चिच्याउन थाल्छन्। झिम्केले बनाएको मन्दिमा पुजारी काकाले पूजा नै नगर्ने निर्णय गर्छन्। झिम्केले बनाएको धारामा आइहरेको पनि झिम्केले नै छुन पाउँदैन्। झिम्केलाई गाउँ निकाला गर्ने कुरा चल्छ। झिम्के घर पुग्छ। घरमा भिजानु मुर्मुरिएका छन्।
सार्कीलाई आफ्नो भाई बनाएको भन्दै श्रीमतिलाई रिस पोखिरहेका छन्। भन्दैछन्, ‘त्यो गधाले मेरो आगन मात्र टेकोस् न!’ सबैतिरबाट अपहेलित भएका झिम्के आफूले बनाएको मन्दिरमा पुग्छन्। जोड–जोडले घण्टी ठोक्छन्। अनि त्यहीँ आफ्नो प्राण अन्त्य गर्छन्। अरु मर्दा लास उठाउन सुरिहाल्ने झिम्केको लास कसैले उठाउन मान्दैनन्।
उसको लास गनाउन थाल्छ र पनि गाउलेले उसको लासलाई छुने मन गर्दैनन्। आखिर झिम्के हो हुन्? झिम्के किन आफ्नो गाउँ छोडेर देउराली गाउँ आए? झिम्के दलित भएको गाउँलेले कसरी थाहा पाउँछन्? झिम्केको लास कसैले उठाउँछ कि उठाउँदैन होला?
यी र यस्तै कुराको उत्तर पाउन तपाई मण्डला नाटकघरसम्म पुग्नुपर्छ। मण्डलामा मञ्चन भइरहेको नाटक ‘झिम्के मामा’ ले यी कुराहरुको उत्तर दिनेछ। प्रदीप चौधरीको निर्देशनमा तयार भएको नाटक ‘झिम्के मामा’ ले समाजको यथार्थतालाई प्रस्तुत गर्छ। दलित हुदाँ खेप्नु पर्ने अपमान र विभेदलाई नाटकको मुख्य विषय बनाइएको छ।
उक्त कथालाई नाटकमा फरक तरिकाले प्रस्तुत गर्नुपर्ने चुनौती निर्देशक चौधरीमा थियो। जसमा चौधरीको मेहनत देख्न सकिन्छ। उनको कामबाट सन्तुष्ट हुने ठाउँ छ। नाटकमा गरिएको ‘सेट डिजाइनिङ’ लाई राम्रो मान्न सकिन्छ। सुन्दर घर, पानीको धारा, चौतारी, मन्दिर, घण्टी, पुल लगायतलाई नाटकको सेटमा प्रयोग गरिएको छ। जुन हेर्दा सुन्दर देखिन्छ।
नाटकमा प्रयोग भएको ‘लाइटिङ’ चित्त बुझ्दो मात्र छ। नाटका झिम्के बनेका अंकित खड्काकको काम प्रशंसनिय छ। उनले लगाएको लुगा, च्यातिएको टोपी, झिर्ने झोलाले उनको क्यारेक्टरलाई चिनाएको छ। शारीरिक हाउभाउ, बोलीको लवजमा पनि फरक गर्ने प्रयास गरेका छन्। सम्रगमा अंकितले झिम्के क्यारेक्टरलाई न्याय गरेका छन्। नाटकमा पण्डित काका बनेका संयोग गुरागाँईको काम पनि सम्झिनयोग्य छ।
उनले बोल्ने संवादहरु र उनको व्यवहारले दर्शकमा हाँसो ल्याउँछ। नाटकमा झिम्केको दिदी–भिनाजु बनेका रीता श्रेष्ठ र अनुप न्यैपानेको काम सन्तोषजनक छ।सागर खाती कामी, युनिश श्रेष्ठ, सुशिल पाण्डे, विकाश पन्त, महन थापा, उषा किरण काफ्ले, रक्षा थापा, काब्या बराल, अर्विन्द अमात्य र क्रिजन महत लगायतका कलाकारहरु स्टेजमा देखिन्छन्। समग्रमा नाटक ‘झिम्के मामा’ एकदमै उत्कृष्ट नाटक बनेको छ।