एजेन्सी– दक्षिण कोरियाका ३० भन्दा बढी होटलका कोठामा गोप्य क्यामरा राखेर झण्डै १६ सय व्यक्तिको अश्लील भिडियो बनाएको खुलेको छ। यो घटनामा संलग्न चार व्यक्ति पक्राउ परेका छन्।
टिभी, हेयर ड्रायरको होल्डर र सोकेटमा क्यामरा लगाएर भिडियो बनाउने गरेका पुरुषहरुले यसबाट ६ हजार डलर भन्दा बढी आय गर्ने गरेका थिए। उनीहरुमाथि अनुसन्धान भइरहेको र दोषी पाइएमा १० वर्षसम्मको जेल सजाय र २६ हजार डलर भन्दा बढी जरिवाना हुनेछ।
लुकाइएका क्यामराबाट खिचिएका भिडियोलाई उनीहरुले सेक्स टेप वा निउड टेपको रुपमा बिक्री गर्ने गरेका थिए। उनीहरुले गएको अगस्टमा दक्षिण कोरियाका १० शहरमा रहेका ३० होटलका कोठामा एक एमएमको लेन्ससहितको क्यामरा लगाएका थिए।
नोभेम्बरमा उनीहरुले वेब साइट बनाए, जसमा पूरा भिडियो हेर्नका लागि पैसा तिर्नु पर्ने र ३० सेकेण्डको भिडियो बिना शुल्क हेर्न पाउने व्यवस्था थियो। उनीहरुले वेब साइटमा ८ सय ३ वटा भिडियो पोस्ट गरेका थिए। यहि मार्चमा साइट बन्द गर्दासम्म उनीहरुले ९७ जना शुल्क तिर्ने सदस्य थिए।