दाङ– प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बहुप्राविधिक कलेज सञ्चालनले दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने बताएका छ। दाङको तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको बहुप्राविधिक शिक्षालय (मेट्रो कलेज)को आज उद्घाटन गर्दै उनले मेट्रो कलेजलाई नमूना बनाउने तयारी भएको बताए।
उनले अहिले उद्घाटन गरेको त न्वारान गरेको बताउँदै शिक्षालयलाई हामीले नमूना बनाउने योजना बनाएकाे जनाए। त्यसका लागि प्रदेश नं ५ सरकारले यस वर्ष १० करोड सहयोग गर्ने उनको भनाइ थियो। मुख्यमन्त्री पोखरेलले अहिले जनशक्ति विदेश गइरहेको तर नेपालमा दक्ष जनशक्ति बाहिरबाट ल्याउनुपर्ने अवस्था छ भन्दै अब नेपालको जनशक्तिलाई नेपालमै दक्ष बनाउने कार्य यो शिक्षालयले गर्नुपर्छ भने बताए।
प्रदेश नं ५ मा सिमेन्ट उत्पादनको केन्द्र बन्ने र सोहीअनुसार प्रदेश सरकारले प्रक्रियालाई अघि बढाएको भए पनि सिमेन्टमा काम गर्न सक्ने दक्ष जनशक्ति नेपालमा नहुँदा बाहिरबाट ल्याउनुपर्ने अवस्था रहेको उनले बताए। त्यसैले सानातिना प्राविधिक सीपहरु पनि प्राविधिक शिक्षालयले दिनुपर्ने उनको धारणा थियो।
तुलसीपुर उपमहानगरपालिका–१२ मा रहेको पशुपति मावि हरिपौराको जग्गामा उक्त शिक्षालय निर्माण गरिएको छ। हाल वन विज्ञान पढाइरहेको भए पनि भविष्यमा कृषि, पशु, होटल म्यानेजम्यान्टलगायतका विषय पठनपाठन गर्नेगरी तयारी थालेको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए।
अहिले वन विज्ञानमा ४० विद्यार्थी अध्ययन गरिरहेका छन्। दश वर्ष्भित्र पाँच हजार विद्यार्थी पढ्न सक्नेगरी पूर्वाधार निर्माण गर्न तयारी थालेको नगरप्रमुख पाण्डेको भनाइ थियो। त्यसका लागि रु ३० देखि ५० करोडसम्म लगानी लाग्ने र सोही स्थानलाई प्राविधिक शिक्षालयको केन्द्रका रूपमा विकास गर्न विज्ञ टोलीलाई जिम्मा दिएको नगरप्रमुख पाण्डेले जानकारी दिए।
कार्यक्रममा राष्ट्रियसभा सदस्य कोमल ओली, तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया आचार्य, नेकपाका नेता टोपेन्द्र केसी, समाजवादी पार्टीका केन्द्रीय सदस्य हरि रिजाल, तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिका संयोजक देवराज विश्वकर्मालगायतले बोलेका थिए।