काठमाडौं– जाडो मौसममा एकाबिहानै घर बाहिर निस्केर शारीरिक व्यायाम गर्दै हुनुहुन्छ ? त्यसो गर्दै हुनुहुन्छ भने, फोक्सोमा हुन सक्ने संक्रमणबाट बच्नुहोस्। जाडो मौसममा वायुमा प्रदुषणको मात्रा धेरै हुने गर्छ।
अझ, शहरी क्षेत्रमा त झनै धुलोका कणमा भाइरस तथा ब्याक्टेरिया पनि धेरै हुने गर्छ, जसले गर्दा भाइरल संक्रमणका कारण मानिसहरुमा रुघाखोकी, ज्वरो, निमोनिया लगायतको संक्रमण बढ्ने गर्छ।
धुलोको कण श्वासनली हुँदै, फोक्सोमा पुगेमा फोक्सोसम्बन्धी एलर्जी हुनुका साथै छालासम्बन्धी समस्या तथा आँखा चिलाउने समस्या देखा पर्न सक्ने चिकित्सकहरु बताउँछन्। यस्तो संक्रमणबाट बच्न बिहानको समयमा व्यायामका लागि निस्कनुअघि मास्क अनिवार्यरुपमा प्रयोग गर्नुपर्छ।
अन्य प्रकारका सर्जिकल मास्कहरुले पीएम २.५ भन्दा मुनिका धुलोका सुक्ष्म कणहरुलाई फिल्टर गर्न सक्दैनन्, जसले गर्दा पीएम २.५ भन्दा साना धुलोको कण श्वासनली हुँदै फोक्सोमा छिरेर फोक्सोसम्बन्धी विभिन्न संक्रमण हुने चिकित्सकको भनाइ छ। त्यसैले सकेसम्म घाम लागेपछि मात्र मर्निङ्गवाकमा निस्कदा राम्रो हुनेछ।