एजेन्सी – फ्रेन्च फरवार्ड एन्टोइन ग्रिजमनको दुई गोल सहयोगमा क्याटलान क्लब बार्सिलोना स्पेनिस कोपा डेल रेको अर्काे चरणमा पुग्न सफल भएको छ। बार्सिलोनाले तेस्रो डिभिजनको युडी इविजालाई २–१ ले पराजित गर्दै अर्काे चरणमा पुग्न सफल भएको हो।
बार्सिलोनाले १–० ले पछि परेको स्थिति उल्ट्याएर पूनरागमन जित निकालेको हो। युडी इविजाका जाभी पेरेजले गरेको गोल सान्त्वना बन्यो। खेलका नवौं मिनेटमा जाभी पेरेजको गोलमा युडी इविजाले बार्सिलोनाविरुद्ध अप्रत्यासित अग्रता लिएको थियो। पेरेजले राई नासिमेन्टोको पासमा गोल गरेका थिए। तर, त्यो अग्रतालाई इविजाले दोस्रो हाफमा जोगाउन सकेन।

१–० ले पछि परेपछि बार्सिलोनाले गोलको लागि निकै मिहेनत गर्नुपरेको थियो।७२औं मिनेटमा ग्रिजमनले फ्रान्की डि जोङको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा जोर्डी अल्वाको पासमा ग्रिजमनले व्यक्तिगत दोस्रो तथा टिमका लागि पनि दोस्रो गोल गर्दै बार्सिलोनालाई २–१ को जित दिलाए।

बार्सिलोनाले इविजाविरुद्ध युवा खेलाडीलाई मैदानमा उतारेको थियो। जुनियर फिर्पाे, अन्सुमान फाती, रिकार्ड पुइग र क्लेमेन्ट लेङ्लेटलाई इविजाविरुद्ध मौका दिइएको थियो।
यस्तै अर्काे खेलमा सेभियाले लेभान्टेलाई ३–१ ले पराजित गर्दै अर्काे चरणमा पुग्न सफल भएको छ। सेभियाको जितमा फर्नान्डो, लुकास आकाम्पस र ओलिभर टोरेसले गोल गरे। ओस्कारले एक गोल फर्काए।
अर्काे खेलमा एथ्लेटिको विल्वाओले इलचेलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै अर्काे चरणमा पुग्न सफल भयो। निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो।