एजेन्सी – स्पेनिस महारथी रियाल म्याड्रिड स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलमा पुग्न सफल भएको छ। रियालले तेस्रो डिभिजनको युनियनीस्टेस डि सालामान्कालाई ३–१ ले पराजित गर्दै अन्तिम १६ मा पुग्न सफल भएको हो।
रियालको जितमा वेल्सका फरवार्ड ग्यारेथ बेल र ब्राहिम डियाजले गोल गरे। एक गोल भने आत्मघाती गोल उपहार पाएको थियो। सालामान्काका अल्भरो रोमेरोले गरेको गोल सान्त्वना बन्यो। खेलका १८औं मिनेटमा बेलले गोल गर्दै रियाललाई खेलमा अग्रता दिलाएका थिए।
बेलले सेप्टेम्वरपछि रियालका लागि पहिलो गोल गर्न सफल भएका हुन्। मार्सेलोको क्रसलाई सालामान्काका डिफेन्डर गोन्गोराले राम्रोसँग क्लियर गर्न नसकेको बललाई बेलले क्लोज रेन्जमा गोल गर्न सफल भएका थिए।
५७औं मिनेटमा सालामान्काले बराबरी गोल फर्काउदै खेललाई १–१ गोलको बराबरीमा ल्यायो। अल्भेरो रोमेरोले बराबरी गोल गरेका थिए। ६२औं मिनेटमा जुवान गन्गोराले आत्मघाती गोल गरेपछि रियालले खेलमा पुन २–१ को अग्रता लिन सफल भयो।
मार्सेलोको ओभरल्यापमा गएर क्रस गरेको बललाई ब्राहिम डियाजले नभेटेपनि गन्गोराले आफ्नै पोस्टमा गोल गर्न पुगेको थियो। इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा क्यासमिरोको पासमा डियाजले गोल गर्दै रियाललाई ३–१ को जित दिलाए।
अन्य नतिजा
बादालोनाविरुद्ध ग्रानडा (१–३)
जिरोनाविरुद्ध भिल्लारियाल (०–३)
लगरोन्सविरुद्ध भ्यालेन्सिया (०–१)
रियाल सोसिडाडविरुद्ध इस्पान्योल (२–०)
टिनररिफविरुद्ध रियल भालाडोलिड (२–१)