एजेन्सी– पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग कपको फाइनलमा पुग्न सफल भएको छ। पीएसजीले १० खेलाडीमा समेटिएको रिम्सलाई ३–० ले पराजित गर्दै फाइनलमा पुग्न सफल भएको हो।
रिम्समा बुधबार राति भएको खेलमा पीएसजीको सहज जितमा मार्कुन्योस र नियानजोउ कोवासीले गोल गर्दा एक गोल उपहार पाएको थियो। नवौं मिनेटमा नै नेयमारको पासमा कप्तान मार्कुन्योसले गोल गर्दै पीएसजीले खेलमा अग्रता लिएको थियो। नेयमारको पासमा मार्कुन्योसले हेडमार्फत सिक्स यार्ड बक्सबाट गोल गर्न सफल भएका थिए।

३१औं मिनेटमा रिम्सका कोनानले आत्मघाती गोल गरेपछि पीएसजीले खेलमा २–० को अग्रता लिन सफल भयो। नेयमारको फ्रिकिकमा मार्कुन्योसले प्रयास गर्दा दिसासीले फ्लिक गरेपनि गोललाईनमा रहेका कोनानले बचाउने प्रयास गरेपनि आफ्नै पोस्टमा गोल हुन पुगेको थियो।
७३औं मिनेटमा रिम्स १० खेलाडीमा समेटियो। मार्काे भेराटीलाई फल गरेपछि रेफ्रीले रिम्सका मार्सल मुनेटसीलाई सिधै रातो कार्ड दिदै मैदान बाहिर पठाएको थियो। त्यसपछि ७७औं मिनेटमा नियानजोउ कोवासीले भली सटमा गोल गर्दै पीएसजीलाई ३–० को जित दिलाउदै फाइनलमा पु¥याउन सफल भयो।
अब पीएसजीले उपाधिका लागि लियोनसँग ४ अप्रिलमा खेल्नेछ। लियोनले बुधबार राति नै लिललाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। निर्धारित समयको खेल २–२ गोलको बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
निर्धारित समयमा लियोनका मौसा डेम्वेले र औअरले गोल गरे। लिलका रेनाटो सान्चेज र रेमीले गोल गरे।