बाँके – गाडीले लगेर फोहर खसाउँछ, जेसिभीले त्यसलाई फिजाउँछ। कर्मचारीले कुहिने र नकुहिने फोहरलाई छुट्याउँछन्। सीसा, प्लाष्टिक, बोतल, टायर एकातिर राखिन्छ, अरु कुहिने फोहरलाई अर्को्तिर। यी हुन् नेपालगञ्जमा ‘ल्याण्डफिल साइट’ सञ्चालनमा आएपछि फोहर व्यवस्थापनमा देखिने दृश्यहरु।
भौतिक पूर्वाधारको विकाससँगै शहरीकरण बढ्दै गए। गाउँ शहर बन्दै जाँदा फोहर व्यवस्थापन मुख्य चुनौती बन्यो। नेपालगञ्ज उपमहानगरपालिकाको क्षेत्र बढ्दै जाँदा मानव शौचालय तथा घरबाट निस्कने र गल्ने फोहर कुनै समय टाउको दुखाइ भएको थियो। तर अहिले ‘ल्याण्डफिल साइट’ सञ्चालनमा आएपछि समस्या समाधान भएको छ।
बजारबाट सङ्कलन हुने फोहरमा ७० प्रतिशत कुहिने हुन्छन्। कुहिने फोहर (जैविक फोहर) बाट कम्पोष्ट मल बनाइन्छ। झण्डै छ दशकसम्म फोहर फाल्ने ठाउँकै खोजीमा समय बिताएको नेपालगञ्ज उपमहानगरपालिका ‘साइट’ बनेपछि फोहर व्यवस्थापनका लागि खेप्नु परिरहेको आलोचनाबाट मुक्त भएको छ।
एशियाली विकास बैंक (एडिबी) ले ‘ साइट’ बनाउन सहयोग पुया्एको थियो। मुखमा मास्क लगाएका कर्मचारीले खुरुखुरु मोहर टिपिरहेकोजस्तो लाग्छ। नेपालगञ्जमा सङ्कलन हुने दैनिक करीब ३२ टन फोहरलाई १७ वटा गाडीले ‘साइट’ सम्म पुया्उँछन्।
‘साइट’ सञ्चालनमा आइसकेपछि बनेको कम्पोष्ट मल बोरामा जम्मा गरेर राखिन्छ। धेरै कम्पोष्ट मल बनाएर जम्मा गरिसकेपछि बिक्री गर्ने गरेको ठेकेदार कम्पनीका कर्मचारी शिव लामिछानेले बताए। उनका अनुसार सीसा, प्लाष्टिक, बोतल, टायर बेचेर मासिक करीब रु ३०–४० हजार आम्दानी भइरहेको छ। कामै नलाग्ने फोहरलाई खाल्टोमा गाडिन्छ।
उपमहानगरपालिकाका सरसफाइ शाखाका अधिकृत अशोक केसीका अनुसार, सात प्रतिशत फोहर खाल्डोमा गाड्ने गरिएको छ। रु ३८ करोड बढीमा बनेको ‘साइट’ ले नेपालगञ्ज उपमहानगरपालिकाको फोहर व्यवस्थापनसँगै त्यसबाट पैसा कमाउने बाटो पनि देखाइदिएको छ। हुन त फोहरबाट मोहर झिक्न त्यति सजिलो छैन।
बजारमा निस्किने फोहरलाई कम्पोष्ट मल बनाएर बेच्दा साँच्चै नै मोहर फल्नेमा दुईमत छैन। फोहरबाट मोहर फलाउने साधन ‘साइट’ मै तयार छ। अब उपमहानगरले बजार क्षेत्र (साविकको १७ वडा) मात्रै होइन, अन्य वडाबाट पनि फोहर सबै ‘साइट’ मा पुया्एर कम्पोष्ट मल बनाउँछ।
उपमहानगर पालिकाका प्रमुख डा धवलसम्शेर राणा फोहर व्यवस्थापनको महत्वपूर्ण पाटो फोहर उत्पादन गर्ने पक्ष सचेत रहेकाले उपमहानगर फोहर व्यवस्थापनमा ‘अब्बल’ बन्दै गएको बताएका छन्। नागरिकको सहयोगले नै हामी सफल भयौँ, उनीहरु सचेत हुनुहुन्छ, बाटोमा तथा सार्वजनिक ठाउँमा फोहर फाल्नुहुन्न’, उनले भने।
उपमहानगरपालिकाले मानव शौचालय तथा घरबाट निस्कने र गल्ने फोहरलाई कम्पोष्ट मलका लागि प्रयोग गर्दै आएको छ। कागज, काँच, प्लाष्टिक र धातुजन्य फोहर छुट्याएर बिक्री गरिरहेको छ। घरबाट निस्कने फोहरको मात्रा घटाउन उपमहानगरपालिकाले सचेनताका कामसमेत गरिरहेको उपमहानगरका सूचना अधिकारी शरद पौडेल बताएका छन्। (रासस)