काठमाडौं – सदावहार नायक भुवन केसीको नयाँ चलचित्र ‘एन्टिहिरो’ मा नायिका जसिता गुरुङले अभिनय गर्ने भएकी छिन्। बुधबार सम्झौतापत्रमा हस्ताक्षर गर्दै जसिताले ‘एन्टिहिरो’ मा नायिकाका रुपमा इन्ट्री मारेकी हुन्। होटल अन्नपूर्णमा निर्माण पक्ष र जसिताबीच समझौतामा हस्ताक्षर भएको हो। यो फिल्ममा नायकका रुपमा भुवनका सुपुत्र अनमोल केसी देखा पर्दैछन् भने भुवन केसी खलपत्र (भिलेन) का रुपमा देखिनेछन्।
केसीका अनुसार यो चलचित्र वैशाख १ गतेबाट सुटिङमा जाने छ।अनमोल हाल ‘ए मेरो हजुर–४’ को वर्कसपमा व्यस्त छन्। यसपछि उनी घरेलु ब्यानर ‘द सुपर काजल फिल्म्स’ ले बनाउन लागेको ‘एन्टिहिरो’ को सेटमा पुग्नेछन्। यसअघि भुवन केसीले अनमोल नै राखेर क्याप्टेन बनाएका थिए। अहिलेसम्म अनमोल अभिनित सबै चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गरेका छन्।