एजेन्सी– लेस्टर सिटी र टोटेनहम हस्टपरले इंग्लिस प्रिमियर लिगमा जित दर्ता गर्दा म्यानचेस्टर युनाइटेड बर्नलीसँग स्तब्ध बनेको छ। घरेलु टोली लेस्टरले वेस्टह्याममाथि ४–१ को जित निकालेको हो।
लेस्टरको सानदार जितमा एयोजी पेरेजले दुई तथा हार्वे वारर्नेस र रिकार्डाे पेरेजले गोल गर। वेस्टह्यामका मार्क नोब्लीले सान्त्वना गोल फर्काए। जितसँगै लेस्टर ४८ अंक जोडेर तेस्रो स्थानमा यथावत रहँदा वेस्टह्याम २३ अंक जोडेर १७औं स्थानमा रहेको छ ।
यस्तै टोटेनहम हट्सपरले नर्विच सिटीमाथि २–१ को संघर्षपूर्ण जित आत्मसाथ गरेको छ। डेली अलीले ३८औ मिनेटमा गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए। टिमु पुक्कीले ७०औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काए। ७९ औ मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई महत्वपूर्ण जित दिलाए।
जितसहित टोटेनहम ३४ अंक जोडेर तालिकाको छैटौ स्थानमा उक्लिन सफल भएको छ। टोटेनहमले पाँचौ स्थानको म्यानचेस्टर युनाईटेडसँग अंक बराबरी गरेपनि गोल अन्तरमा पछि परेको हो। नर्विच १७ अंकसहित पुछारमा यथावत छ।
बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड बर्नलीसँग २–० ले स्तब्ध बनेको छ। क्रिस उड र जय रोडिग्वेजले गोल गरेपछि ओल्ड ट्राफोर्डमा बर्नलीले घरेलु टोलीमाथि शानदार जित निकालेको हो। हारसँगै प्रशिक्षक ओले गनर सोल्सायरमाथि दबाब थपिएको छ।
३९औं मिनेटमा उडले गोल गर्दै बर्नलीलाई सुरुवाती अग्रता दिलाए। ५६औं मिनेटमा रोड्रिग्वेजले गोल गर्दै बर्नलीको जित सुनिश्चित गरे। हारसँगै युनाइटेड चौथो स्थानको चेल्सी भन्दा ६ अंकले पछि परेको छ। युनाइटेडको ३४ अंक छ। युनाइटेडलाई पराजित गरेको बर्नली ३० अंक जोडेर १३औं स्थानमा उक्लिएको छ।