सुर्खेत– कर्णाली प्रदेशका विभिन्न जिल्लामा मातृ तथा नवजात शिशुको मृत्युदर घटाउन स्वास्थ्यकर्मीलाई विशेष तालिम ‘मास्टर प्रशिक्षक कोर्ष’ दिइएको छ। विभिन्न स्थानमा कार्यरत ८० स्वास्थ्यकर्मीले चारदिने तालिम पुरा गरेका छन्।
सुत्केरी अवस्थामा आमाको अत्यधिक रक्तश्रावले हुने मृत्युबाट जोगाउने ध्येयले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, सफा सुनौलो नेपाल र ल्याटर–डे–च्यारिटिजको संयुक्त तत्वाधानमा यहाँ तालिम सञ्चालन गरिएको थियो। कर्णालीका १० जिल्लासहित दाङ, बाँके र बर्दियामा कार्यरत नर्स तथा अनमीले सो तालिम लिएको सफा सुनौलो नेपालका सचिव राकेश हमालले जानकारी दिएका थिए।
सहभागीलाई सुत्केरी अवस्थामा आमा र बच्चाको स्वास्थ्य कसरी सुरक्षित गर्ने भन्ने सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो। कर्णाली प्रदेशसभा अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष अमरबहादुर थापाले बच्चा र आमाको जीवन बचाउन तालिम प्राप्त स्वास्थ्यकर्मी प्रमुख आधार हुने बताए।
उनले भने, ‘आमा र बच्चाको स्वास्थ्य अवस्थामा सुधार ल्याउन चिकित्सक एवं स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिका रहेको छ। यद्यपि रुढीवादी सोचमा परिवर्तन हुन नसकेसम्म यहाँका आमा र शिशुको मृत्युदर कमी ल्याउन अझ बढी चुनौती देखिन्छ।’
प्रमुख प्रशिक्षक डा माइकलले ‘मास्टर तालिम कोर्ष’ कर्णालीका लागि कोशेढुङ्गा सावित हुने र तालिम लिएका स्वास्थ्यकर्मीबाट आमा तथा नवजात शिशु मृत्युदरमा कमी रहेको बताए। कर्णालीको स्वास्थ अवस्थामा अपेक्षित सुधार नआउँदा विगत तीन वर्षमा यहाँका १९५ महिला तथा गतवर्ष १४३ नवजात शिशुको मृत्यु भएको थियो। राष्ट्रिय औसतमा प्रतिएकहजार जीवित जन्ममा नवजात शिशु मृत्युदर २१ हुँदा कर्णालीमा २९ रहेको छ।