एजेन्सी– कोरोना भाइरसको सङ्क्रमणबाट चीनमा अहिलेसम्म १७ जनाको मृत्यु भईसकेको छ भने पाँच सयभन्दा बढी मानिसहरू यो भाइरसबाट प्रभावित भइसकेका छन्। भाइरसलाई थप फैलिन नदिन चिनियाँ अधिकारीहरूले वुहान सहरका सबै सार्वजनिक यातायात तथा उडानहरू स्थगित गर्ने निर्णय गरेका छन्।
कोरोना भाइरसको सङ्क्रमणबाट चिनियाँ सहर वुहानबाट अन्यत्र फैलिइसकेको छ। अधिकारीहरूको अनुसार कोरोना भाइरसको पछिल्लो सङ्क्रमण चीनको वुहान सहरको एक बजारमा जनावरबाट सुरु भएको थियो। अहिले चिनियाँ अधिकारीहरूले वुहान सहरका दशौँ लाख बासिन्दालाई जरुरी काम नभई शहर नछोड्न निर्देशन दिएका छन्।
त्यहाँ बिहीवार बिहानदेखि लागु हुने नयाँ नियम चिनियाँ नयाँ वर्षको बिदाको अवसरमा कार्यान्वयनमा आउन लागेको छ। यो बेला दशौँ लाख चिनियाँहरू आफ्नो जन्मथलो फर्कने गर्छन्। विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओका महानिर्देशक टेड्रोस एड्हनोम गुब्रोहयसोसले चिनियाँ कदमको स्वागत गरेका छन्।