(तस्वीरः अनलाइन खबर)
काठमाडौं– राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सातै प्रदेशमा मतदान जारी छ। यही फागुन २१ बाट रिक्त हुन लागेका राष्ट्रियसभाका १८ सिटका लागि अहिले देशका सातवटै प्रदेशमा मतदान भइरहेको हो।
निर्वाचन आयोगले सबै मतदानस्थलमा शान्त रुपमा मतदान कार्य जारी रहेको जनाएको छ। ५३ हजार ५ सय ८ मतभार रहेको निर्वाचनको चुनावी मैदानमा ६ दलका ४५ उम्मेदवार छन्। १० बजेदेखि मतदान शुरु भएको र सम्भवतः मतपरिणाम पनि आजै आउने निर्वाचन आयोगले जानकारी दिएको छ।
प्रदेश १ का लागि विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृहलाई मतदानस्थल तोकिएको छ भने प्रदेश २ को जनकपुर उपमहानगरपालिकास्थित महेन्द्र नारायण स्मृति भवन, गण्डकी प्रदेशको मतदानस्थल पोखरा महानगरपालिकामा अवस्थित निर्वाचन कार्यालयलाई तोकिएको छ।
त्यस्तै प्रदेश ५ को घोराहीस्थित कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशको जिल्ला निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिमका लागि दिपायलस्थित पद्य पब्लिक मुक्तिनारायण उच्च माविलाई मतदानस्थल तोकिएको छ।