ऐजेन्सी– चीनमा देखिएको कोरोना भाइरस विश्वभर फैलिने खतरा बढेको छ। भाइरसको संक्रमण फैलिएपछि एक नेपाली युवाको शव नेपाल फर्काउन समस्या भएको छ।
चीनमा कार्यरत दोलखाका ३८ वर्षीय नेपाली कामदार पुष्कर खड्काको गत आइतबार आफू बसेकै होटलमा निधन भएको थियो। उनी इन्डियन मार्का नामक भारतीय रेस्टुरेन्टमा कार्यरत थिए। अस्पतालको प्रारम्भिक प्रतिवेदनअनुसार खड्काको मृत्युमा कोरोना भाइरसको संक्रमण देखिएको छैन।
उनी चीनमा एक दशकदेखि ‘सेफ’सम्बन्धी काम गर्दै आएका थिए। उनको शव नेपाल लैजान करिब १ लाख चिनियाँ आरएमबी लाग्ने भएकाले खर्च जुटाउनका लागि नेपालस्थित जिम्मेवार निकाय र बेइजिङस्थित नेपाली दूतावासले पहल गरिरहेको मृतकका आफन्तले बताएका छन्।
नेपाली दूतावासका अनुसार कोरोना भाइरसका कारण शव नेपाल लैजानका लागि समस्या भएको हो। चीनमा वसन्त चाडको लामो बिदामा बाक्लो ओहरदोहोर हुने भएकाले कोरोना भाइरस फैलिने आशंकामा सरकारले बिहीबारदेखि सार्वजनिक यातायातहरू अस्थायी रूपमा बन्दको घोषणा गरेको छ। बिहीबार बिहान १० बजेदेखि स्थानीय बस, हवाई उडानहरू तथा रेल तालिका रद्ध गरिएको छ।