काठमाडाैं – चिनियाँ स्मार्टफोन निर्माता कम्पनी रियलमीले आफ्नो नयाँ फोन ‘रियलमी फाइभ आई’ नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले बुधबार राजधानीमा एक कार्यक्रम गरी उक्त स्मार्टफोन सार्वजनिक गरेको हो।
कम्पनीले रियलमी फाईभ आई क्यामेरा, ब्याट्री, डिजाईनसहित सुपथ मुल्यमा बजारमा ल्याएकाे दाबी गरेको छ। रियलमी फाइभ आईमा ६.५ इन्चको एचडी प्लस आइपीएस एलसीडी डिस्प्ले रहेको छ।
क्वालकमको स्न्यापड्रयागन ६ सय ६५ चिपसेट रहेको यसमा ५ हजार एमएएचको ब्याट्री रहेको छ। जसले ३० दिने स्ट्यान्डबाई प्रदान गर्ने कम्पनीको दाबी छ। ब्याट्रि सुरक्षाको लागि फायरप्रुफ–प्रोटेक्टभ समेत रहेको यो फोनमा ४ जीबी र्याम र ६४ जीबी रोम रहेको छ।
रियलमी फाइभ आईमा १२ मेगापक्सेल मेन क्यामेरा सहित ४ वटा रियर क्यामेरा छन्। मेन क्यामेराले ई.आई.एस. ईफेक्ट प्रयोग गर्छ जसले गर्दा चलिरहेको अवस्थामा स्थिर भिडियोहरु खिच्न सकिन्छ। यसमा सेल्फी क्यामेरा ८ मेगापिक्सेलको रहेको छ।
यसका साथै याे स्मार्टफाेनमा पोरट्रेट लेन्स २ एम्पी र अल्ट्रा म्याको लेन्स २ एम्पीको क्वाड क्यामेरा सेटप रहेको छ। अल्ट्रा वाईड एनगल लेन्समा नाईटस्केप २.० समावेश गरिएको छ। जसले गर्दा राती वा अँध्यारो स्थानमा वाईडर भ्युको साथमा उत्कृष्ट तस्विरहरु लिन सकिने कम्पनीले दाबी गरेको छ।
रियलमी फाईभ आई दुई भिन्न रङहरु एक्वा ब्लु र फरेस्ट ग्रिनमा उपलब्ध रहेको छ। एन्ड्रोइड पाईमा आधारित यसमा फिंगरप्रिन्टको पनि सुविधा रहेको छ। नेपाली बजारमा यसको मूल्य २० हजार ९ सय ९० रुपैयाँ रहेको छ।