चीप्लेढुङगा – पोखरा महोत्वसका अवसरमा आयोजना गरिएको बुद्धिचाल प्रतियोगिताको उपाधि हेटौँडाका कृष्ण थापाले जितेका छन्। ५.५ अङ्क प्राप्त गर्दै थापाले उपाधिसँगै नगद रु २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका हुन्।
एसियन एमेच्योर रहेका थापाले २०५६ देखि २०६१ सम्म नेपालको राष्ट्रिय बुद्धिचालमा दोस्रो स्थान हासिल गर्दै आएका थिए भने हाल इलामको गजुरमुखी क्लबबाट चेस खेल्दै आएका छन्।
त्यसैगरी प्रतियोगितामा पाँच अङ्कसहित महेश्वर अधिकारी दोस्रो भए। उनले नगद रु १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे। बुद्धिराज शर्माले ४.५ अङ्कसहित तेस्रो स्थान हासिल गर्दै रु १० हजार पाएका छन्। अनील कोइराला चार अङ्कसहित चौथो र विनोद नाल्मी चार अङ्कसहित पाँचौँ भए।
दशौँ स्थानसम्म पर्न सफल सागर साई, विश्व पराजुली, युवराज भण्डारी, रामबहादुर क्षेत्री, वीरबहादुर परियारले जनही एक हजार नगद जित्न सफल भएका छन्। विजेतालाई युनाइटेड क्लबका अध्यक्ष लालकाजी गुरुङले पुरस्कार प्रदान गरे। प्रतियोगितामा ३० खेलाडीको सभागिता थियो। (रासस)