काठमाडौं – राष्ट्रियसभा सदस्यको रिक्त १८ पदका लागि भइरहेको निर्वाचन अन्तर्गत मुलुकका ७ वटै प्रदेशमा अहिले मतदान जारी छ। सातै प्रदेशको उच्च अदालत रहेका जिल्ला सदरमुकाम क्रमशः प्रदेश १ को मोरङ, प्रदेश २ को धनुषा, बाग्मतीको ललितपुर, गण्डकीको कास्की, प्रदेश ५ को दाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको डोटीमा निर्वाचन हुँदैछ।
दिउँसो एक बजेसम्म ८० प्रतिशतभन्दा बढी मतदान भइसकेको सम्बन्धित मतदान अधिकृतले जानकारी दिएका छन्। मतदानका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म समय तोकिएको छ। निर्वाचनका लागि मतदान केन्द्र तोकिएका जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिएको छ।
निर्वाचनमा ५ सय ५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्षरउपाध्यक्ष, प्रमुखरउपप्रमुख १ हजार ५ सय ६ गरी कूल २ हजार ५६ मतदाता छन्। निर्वाचनमा ६ राजनीतिक दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा छन्।
प्रदेशसभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १८ कायम भएको छ। मतदान सकिनासाथ राजनीतिक दलको सहमतिमा मतगणना कार्य प्रारम्भ हुने छ। निर्वाचन आयोगको अनुसाार सम्भवतः बिहीबार राति नै सातै प्रदेशबाट निर्वाचनको नतिजा प्राप्त हुने छ।
यसैबीच, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्तद्वय नरेन्द्र दाहाल र इश्वरीप्रसाद पौड्यालले वाग्मती प्रदेशको ललितपुर नगरपालिका–४ स्थित वडासमितिको भवन परिसरमा कायम गरिएको मतदान केन्द्रमा भइरहेको मतदानको निरीक्षण गरेका छन्। उक्त मतदान केन्द्रमा प्रदेशसभा सदस्यतर्फ १ सय १० र स्थानीय तहतर्फ २ सय ३८ मतदाता कायम छन्।