एजेन्सी— नयाँ नागरिकता कानूनले भारतीय राजनीति मात्र होइन, बलिउडलाई पनि तरंगीत पारिरहेको छ। सरकार पक्ष र विरोधी दुई स्पष्ट खेमा देखिन थालेको छ । कोही ‘मौका यही हो’ भन्दै सरकारको गुनगान गाइरहेका छन् भने धर्मका आधारमा नागरिकमाथि विभेद भएपछि चर्को विरोध गर्ने पनि उत्तिकै छन्।
यही सेरोफेरोमा बलिउडका दुई दिग्गजको वाकयुद्धले भारतीय मिडियामा खुबै प्राथमिकता पाएको छ। ती पात्र हुन्– अभिनेता नसीरुद्दीन शाह र अनुपम खेर।
भन्नै पर्दैन, अनुपम मोदीभक्त हुन् अनि नसीरुद्दीनचाहिँ घोर आलोचक। मुस्लिमलाई विभेद गरिएको कानून ल्याएसँगै उनी थप रुष्ट भएका छन्। अब हुँदा–हुँदा अनुपम खेरमाथि निशाना साँध्नुपर्ने समय आएको छ। अनलाइन न्युजपोर्टल ‘द वायर’सँगको भिडियो अन्तरवार्तामा नसीरुद्दीनले अनुपमलाई ‘जोकर’को संज्ञा दिएका छन्।
‘अनुपम खेरजस्ता मान्छे बकबक गर्छन्। मलाई लाग्दैन की उनलाई गम्भीरतापूर्वक लिनुपर्छ। उनी जोकर हुन्,’ नसीरुद्दीन थप्छन्, ‘एनएसडी र एफटीआईआईका उनका सहपाठी उनको चाप्लुसी प्रवृत्तिबारे जानकार छन्। चाकडी उनको रगतमै छ।’ जवाहरलाल विश्वविद्यालय (जेएनयू) पुगेर घाइते विद्यार्थीप्रति सान्त्वना व्यक्त गरेकी अभिनेत्री दीपिका पादुकोणलाई उनले ‘साहसी’ मानेका छन्।
अनुपमको आलोचना, दीपिकाको तारिफ। मोदी समर्थक मिडियालाई नसीरुद्दिनप्रति खनिन मसला मिलिहाल्यो। अनुपमसमेत चुप बसेनन्। बुधबार ट्वीटरमा भिडियो सन्देश जारी गर्दै नसीरुद्दीनलाई कडा शब्दमा जवाफ फर्काएका छन्। अरुको आलोचना गर्ने उनको प्रवत्तिबारे बलिउड बेखबर नभएको अनुपमको दाबी छ।
‘मेरो तारिफको लागि धन्यवाद तर म तपाईं र तपाईंका कुराहरु गम्भीरतापूर्वक लिन्नँ। मैले कहिल्यै तपाईंको कुभलो चिताइनँ, केही नराम्रो भनिनँ तर अब भन्न चाहन्छु। तपाईंले यतिधेरै सफलता त पाउनुभयो तर पूरा जीवन कुन्ठामा बिताउनुभयो,’ अनुपमले भने। यसअघि पनि नसीरुद्दीनले दीलिप कुमार, अमिताभ बच्चन, राजेश खन्ना, विराट कोहलीजस्ता हस्तीको आलोचना गरेको तर कसैले ध्यान नदिएको अनुपमको दाबी छ। किन? यसमा उनको उत्तर छ, ‘वर्षौदेखि तपाईं जुन पदार्थको सेवन गरिरहनुभएको छ, त्यसको कारण तपाईंलाई सही र गलतको अन्तर नै थाहा हुन्न।’ आफूलाई गाली गर्दा खुशी मिल्ने भए सधैं खुशी मिलोस् भनेर उनले नसीरुद्दीनलाई उडाएका छन्।
यी दुवै कलाकारले बलिउडबाहिर पनि ख्याती कमाएका छन्। ‘हिरो’को मानकभित्र नअटाए पनि अभिनय कुशलताकै कारण शिखर चुमेकाले उनीहरु धेरैको साझा ‘आदर्श’ हुन्। सन् २००८ मा उनीहरुले ‘अ वेनस्डे’मा सँगै काम गरेका थिए भने पाँच वर्षअघि अनुपम खेरको टेलिभिजन शोमा ओम पुरीका साथ अतिथी बनेर पुगेका थिए, नसिरुद्दीन। यो विवादपछि भने उनीहरुका प्रसंशकबीच पनि फाटो आउने देखिएको छ। यसमा पनि प्रष्ट छ, जो सरकारको आलोचक छ, त्यो नसीरुद्दीनको कित्तामा उभिन्छ। जो सरकारको समर्थक छ, त्यो अनुपमको कित्तामा।
केही वर्षअघि पनि सरकारको आलोचनाकै कारण नसीरुद्दीन विवादमा तानिएका थिए। त्यतिबेला उनले समाजमा बढ्दो साम्प्रदायिक सोचले सन्तानको सुरक्षाबारे डर व्यक्त गरेका थिए। उनको भनाई थियो, ‘म मेरो सन्तानका लागि चिन्तित छु, भोली भीडले उनीहरुलाई तिमी हिन्दु हौ की मुस्लिम भनेर सोध्यो भने उनीहरुसँग जवाफ हुन्न।’