काठमाडौं– सुन्दरता कायम राख्नको लागि फेसप्याक वरदान साबित हुन्छ। अनुहारको छालामा देखापर्ने दाग तथा सुक्खापनले पार्ने असरलाई समेत फेसप्याकले हटाइदिन्छ भने अनुहारको चमकसमेत बढाउछ।
आफ्नो छाला कुन किसिमको हो, सोहीअनुसार फेसप्याक प्रयोग गर्नुपर्छ। फेसप्याकले पोषण प्रदान गर्नुका साथै छालामा देखिने समस्याबाट पनि छुटकारा दिलाउँछ।
गोरो छालाको लागि फेसप्याक
तुरुन्तै अनुहारमा चमकसँगै गोरोपन बढाउनको लागि नियमित रूपमा फेसप्याक प्रयोग गर्नुपर्छ। यसका लागि आधा टेबल स्पुन दूध वा दूधको पाउडरमा आधा टेबल स्पुन मह हाली थोरै कागतीको रस मिसाएर फेसप्याक तयार गर्न सकिन्छ।
तयार गरिएको फेसप्याक अनुहारमा लगाएर कम्तीमा १५ मिनेटपछि चिसो पानीले सफा गर्नुपर्छ। यसरी फेसप्याकको प्रयोग गर्नाले हराएको गोरोपन तथा सुन्दरता केही समयमै फिर्ता हुन्छ।
चिल्लो छालको लागि फेसप्याक
छालाबाट निस्कने चिल्लोले अनुहारलाई नै चिप्लो बनाउँछ। चिल्लो छाला हुनेहरूले उक्त चिप्लोपन घटाउन सोहीअनुरूपको फेसप्याक छनोट गर्नुपर्छ।
चन्दनको पाउडरमा गुलाबजल मिसाएर लेप तयार गर्ने र त्यसलाई अनुहारमा प्रयोग गरे चिल्लोपन कम हुन्छ। यसैगरी चामलको आटामा दही मिसाएर अनुहारमा लगाए अनुहारको चिल्लोपन तथा काला दागहरूको समस्या कम हुन्छ।
सुख्खा छालाको लागि फेसप्याक
सुख्खा अथवा रुखो छाला हुनेहरूले सधैं चिडचिडाहट महसुस गर्छन्। यस्तो छाला हुनेहरूले छाला मुलायम बनाउन सोहीअनुसारको फेसप्याक छनोट गर्नु जरुरी हुन्छ।
आधा टेबल स्पुन बदामको पाउडरमा आवश्यकता अनुसार दूध तथा थोरै मह मिसाएर अनुहारमा लगाए सुख्खापन कम हुनुका साथै छाला नरम एवं सुन्दर देखिन्छ। यसैगरी बेसनमा दही मिसाएर अनुहारमा लगाउँदा सुख्खापन हट्नुका साथै अनुहार मुलायम भएको महसुस गर्न सकिन्छ।
सामान्य छालाको लागि फेसप्याक
नर्मल छाला हुनेहरूले न त चिल्लोपन बढी भएको गुनासो गर्छन् न त सुख्खापनकै। यस्तो छाला हुनेहरूले यस्तो फेसप्याक रोज्नु आवश्यक छ, जसले दुवै चीजलाई सन्तुलित गर्न सकोस्।
यस्तो छाला हुनेहरूले गाजरलाई मिक्स्चरमा पिसेर पेस्ट बनाउने र त्यसमा १ चिया चम्चा मह मिसाएर अनुहारमा लगाउने, यसले अनुहारमा निखार ल्याउाछ भने सधैं जवान देखाउन मद्दत गर्छ। यसैगरी उसिनेको आलुलाई मिचेर पेस्ट बनाई त्यसमा थोरै दही मिसाएर पूरै अनुहारमा लगाउने र पेस्ट सुकेपछि अनुहार सफा गर्ने त्यसपछि छाला कसिलो र तेजिलो देखिन्छ।